कान्ति बाल अस्पतालमा क्यान्सर रोग सम्बन्धि अन्तरक्रिया सम्पन्न

सफलता भण्डारी/अनलाइन पत्रिका न्यूज नेटवर्क ।

काठमाडौं । रक्त क्यान्सर चेतना मुलक महिना पारेर नेपाल क्यान्सर सर्भाइबर्स सोसाईटिले भाद्र २४ गते मंगलबार कान्ति बाल अस्पतालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

बिशेषगरि क्यान्सर लागेका बालबालिकाको समयमा नै उपचार भयो भने निको पार्न सकिन्छ र क्यान्सर रोगलाई पनि हामीले जित्न सक्छौं भन्ने सन्देश दिनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको नेपाल क्यान्सर सर्भाइबर्स सोसाईटिका अध्यक्ष प्रमिता खनालले बताउनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. अजित रायमाझीले क्यान्सर बारे जनचेतना बढेका कारण क्यान्सर रोगीहरु खुलेर उपचारमा आउन लागेको बताउनु भएको थियो । साथै कान्ति बाल अस्पतालमा उपचार पनि राम्रो र कम लागतमा नै गरिएको बताउनु भएको थियो । क्यान्सर कस्तो खालको रोग हो नेपालमा क्यान्सर रोगीहरुको अबस्था साथै यसको सम्पूर्ण बिषयको बारेमा कान्ति बाल अस्पतालका डा. सुधिर सापकोटाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

उक्त कार्यक्रमलाई रमेश गुप्ता मेमोरियल ट्रष्टले सहयोग गरेको हो । कार्यक्रममा क्यान्सर लागेका बालबालिका र उहाँहरुको अभिभावकको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिकृया