जनैपूर्णिमाको अबसरमा तेस्रो पाँचपोखरी ट्रेल हाफ म्याराथान २०१९ हुने

सुस्मिता सुमाई/अनलाइन पत्रिका न्यूज डेस्क ।

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरीमा जनैपूर्णिमाको अबसरमा तेस्रो पाँचपोखरी ट्रेल हाफ म्याराथान २०१९ हुने भएको छ । काठमाडौं आयोजित एक पत्रकार सम्मेलनमार्फत उक्त कुराको जानकारी गराइएको हो ।

सिन्धुपाल्चोक जिल्लाको उतर पश्चिम भेगको साविक भोताङ गाविसमा पर्ने पाँचपोखरी धार्मिक हिसाबले अत्यन्त महत्वपूर्ण मानिन्छ । समुद्र सतहदेखि ४१०० मिटरको उचाईमा रहेको उक्त स्थानमा ५ वटा पोखरीहरु रहेका छन् । साथै पाँचपोखरी पर्यटकिय स्थल पनि हो । पाँचपोखरीमा भदौ पूर्णिमाको दिन विशेष मेला लाग्ने गर्दछ । नेपाल सरकारको भ्रमण बर्ष २०२० लाई सफल पार्नका लागि ‘पर्यटन प्रवद्र्धनका लागि खेलकुद’ भन्ने मुल नाराका साथ उक्त कार्यक्रम गर्न लगिएको आयोजक पक्षले जनाएको छ । प्रतियोगितामा बिभिन्न टोलीबाट करिब १५५ जना खेलाडीको सहभागिता रहने पनि जनाइएको छ ।

प्रतियोगितामा पुरुष र महिलाहरुका लागि छुट्टाछुट्टै प्रतियोगिता गराईने छ । प्रत्येक समूहको प्रथम, दोस्रो, तेस्रो र चौथो हुने धावकहरुलाई क्रमश ५०,०००/-, ३०,०००/-, २०,०००/- र १०,०००/- सहित मेडल र प्रमाणपत्रले सम्मान गरिने छ । सिन्धुपाल्चोकबाट सहभागि हुने खेलाडी मध्येबाट प्रथम, दोस्रो र तेस्रो हुने धाबकलाई क्रमश १५,०००/-, १०,०००/- र ५,०००/- साथै मेडल र प्रमाणपत्रले सम्मान गरिने छ ।

कार्यक्रममा सहभागि हुनका लागि पाँचपोखरी थाङ्पाल गाउँपालिका, खेलकुद विकास समितिमार्फत फारम बितरण गरिएको छ भने म्याराथनको फेसबुक पेजमा गएर अनलाईन फारम भर्ने ब्यबस्था समेत रहेको सोही क्रममा जानकारी गराइएको छ ।

तपाईंको प्रतिकृया