शुद्धिकरण अभियान भन्दै स्थायी कमिटी र पोलिटब्युरो भंग

काठमाडौं, श्रावण १६ । नेत्र विक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीमा शुद्धिकरण अभियान चलाउन भन्दै स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको छ ।

केही दिनअघि बसेको स्थायी कमिटी बैठकले ५ सदस्यीय स्थायी कमिटी र ११ सदस्यीय पोलिटब्युरो भंग गरेको हो । अब समूहमा सबै कमाण्ड महासचिव नेत्रविक्रम चन्द आफैँले सम्हाल्ने भएका छन् भन्ने खबर कान्तिपुर दैनिकमा छ ।

उक्त पार्टीले पार्टीभित्र विकृति मौलाएको उल्लेख गर्दै १७ केन्द्रीय सदस्यलाई जिम्मेबारीबाट हटाएर खुल्ला मोर्चामा पठाएको छ । ‘५० केन्द्रीय सदस्यमध्ये १७ जनालाई कारबाही गरिएको हो,’ एक केन्द्रीय सदस्यले भने, ‘घटुवा गरे पनि खुल्ला मोर्चाको जिम्मेबारी दिइएको छ ।’ तीमध्ये केहीलाई पार्टीले दिएको जिम्मेबारी पूरा नगरेपछि हटाइएको उनको भनाई छ । विप्लव बाहेक चार जनालाई सचिवालय सदस्यको जिम्मेबारीमात्र दिइएको छ ।

पोलिटव्युरो सदस्यहरु भरत बम, अनिल शर्मा, ओम पुन, उमा भुजेल, वीरजंग चन्द र मोहन कार्कीलाई केन्द्रीय सदस्यमा घटुवा गरिएको छ ।

तपाईंको प्रतिकृया