अब पाइपलाइनबाटै अमलेखगन्जमा डिजेल

काठमाडौं । भारतको मोतिहारीबाट पाइपलाइनमार्फत अब सिधै पेट्रोलियम पदार्थ नेपाल आउने भएको छ । बीचमा कुनै प्राविधिक समस्या नआए बिहीबार मध्यराति नै पेट्रोलियम पदार्थ नेपाल आइसकेको हुनेछ ।

सो पेट्रोलियम पदार्थ अमलेखगन्ज डिपोमा खस्ने व्यवस्था मिलाइएको छ । अमलेखगन्जबाट डिजेल पठाउनुअघि परीक्षणका लागि पानी पठाइएको थियो । पानीको सफल परीक्षण भएकाले पाइपलाइनमार्फत डिजेल पठाइएको हो ।

मोतिहारीबाट पम्पिङ गरिएको डिजेलको अघिल्लो भागमा पानी रहेको छ । सो तेल अमलेखगन्जमा आइसकेपछि प्रशोधन गरिनेछ । पानी र तेल छुट्टाएपछि डिपोमा राखिनेछ । यसका लागि चारवटा ट्यांकीलाई तयारी अवस्थामा राखिएको छ । सो पाइपलाइनको औपचारिक उद्घाटन भने हुन बाँकी छ ।

तत्काललाई पाइपलाइनमार्फत डिजेल मात्र पठाइने भएको छ । अमलेखगन्ज डिपोमा पेट्रोल राख्न ‘भर्टिकल’ नबनेका कारण तत्कालका लागि पाइपलाइनबाट डिजेल मात्रै आयात गरिने भएको हो । पाइपलाइन र डिपो सुदृढीकरणमा हालसम्म आईओसीले ५ अर्ब १८ करोड ४० लाख नेपाली रुपैयाँ खर्च गरेको छ ।

नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बिहीबार रातिदेखि अमलेखगन्ज पाइपलाइनबाट डिजेल आए बताए पनि निरन्तर रूपमा १५ अगस्टपछि आउने भएको छ । निगमले जनाएअनुसार पाइपलाइनबाट पेट्रोलियम पदार्थ आपूर्ति गर्दा निगमलाई प्रतिलिटर १ रुपैयाँ नाफा हुनेछ । पाइपलाइनबाट डिपोमा भण्डारण ढुवानी कटाएर प्रतिलिटर १ रुपैयाँ नाफा हुने भएको हो । यो खबर आजको राष्ट्रिय दैनिक राजधानीमा छापिएको छ ।

तपाईंको प्रतिकृया