दक्षिण ललितपुर निर्वाचन क्षेत्र नं १ लाई ७८ औं जिल्ला किन नबनाउने ?

  • दिलिप न्यौपाने

देशको राजधानी काठमाडौसंग जोडिएको ललितपुर जिल्ला को ८०% भन्दा बढि भूभाग ललितपुर निर्वाचन क्षेत्र नं १ मा पर्दछ । १ नं क्षेत्र भौगोलिक, आर्थिक, सामाजिक, राजनैतिक चेतना, सामाजिक जिवनस्तर एवम् मानव सुचकांकको दृष्टिकोणले पनि क्षेत्र नं २ र ३ भन्दा पछाडि परेको कुरा आम दक्षिण ललितपुरवासी एवम् क्षेत्र न १ बाट निर्बाचित जनप्रतिनिधि एवम् प्रदेश सरकार प्रतिनिधि ज्यूहरुलाई बिदितै छ । दक्षिण ललितपुरको भौगोलिक बनावटको कारण बिकास निर्माण आफैमा चुनौतिपूर्ण छ, तैपनि प्रजातन्त्रको पुर्नस्थापना एवम् गणतन्त्रको शुरुवातसंगै थोरै भएपनि सम्भावना बढेर गएको छ । ललितपुरबाट मकवानपुर जोड्ने कान्ति लोकपथको निर्माणकार्य पनि तदारुकताका साथ भइरहेको छ । जसले देशको राजधानी काठमाडौं एवम् प्रदेश ३ को राजधानी हेटौडाको दुरीलाई अबका केहि महिनामै २ देखि ३ घण्टामा जोडिदै छ । यो आफैमा ललितपुर जिल्लाको लागि गौरबको बिषय हो ।

ललितपुर जिल्लाको सदरमुकाम पाटन/लगनखेल भौगोलिक एवम् सेवा सुविधाको हिसाबले भरिपूर्ण छ । केन्द्र सरकारको मुख्यालय सिहदरबारसंग ४ कि.मि.को दुरीमा छ । पाटन/लगनखेलको आसपासका क्षेत्र जावलाखेल, पूल्चोक, सानेपा जस्ता ठाँउहरुमा विभिन्न सरकारी कार्यालयहरु, अस्पतालहरु, शिक्षालयहरु, बिदेशी कुटनीतिक नियोगका कार्यालयहरु समेत छन् । ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं २ र ३ हुँदै ललितपुर जिल्लाकै क्षेत्र नं १ का उपत्यका भित्रैका बिभिन्न स्थानहरु जस्तै लुभू, गोदावारी, चापागाउ, छम्पी, डुकुछाप लगायत उपत्यका बाहिर पर्ने दक्षिण ललितपुरको साबिक १६ गाबिसहरु लगायत छिमेकी जिल्ला मकवानपुरको उत्तरी भाग काभ्रेको पश्चिमी भाग एबं सिन्धुली जिल्लाको केहि भागका मानिसहरुको प्रशासनीक एंब व्यवसायिक कामको लागि प्रमुख व्यवसायिक केन्द्र पाटन/लगनखेल हो । जसले जिल्लाकै ब्यावसायिक एंब प्रशासनिक काम, राजस्व लगायत आर्थिक क्रियाकलापमा मद्दत पु-याइरहेको छ ।

विशेषतः ललितपुर जिल्लाको केन्द्र पुग्न निर्वाचन क्षेत्र नं १ का जनताले क्षेत्र नं २ र ३ को प्राचिन घना बस्तीहरु सुनाकोठी, ठेचो, ठैव, हरिसिद्घि, सानागाउँ, लुभु बुंगमति जस्ता प्राचीन ऐतिहासिक बस्तिको बिचबाट साँगुरा एंव जिर्ण सडक पार गरेर घण्टौ घण्टा ट्राफिक जाममा फँस्दै धुलो र धुवाँबाट बँच्न हिउँदमा समेत थोत्रा रेनकोट ओढेर अनुहार ढाकिने गरि मास्क लगाएर बर्काे तथा रुमालले टाउको छेकेर कुनै आतङककारी अथवा चोर, डाँकाको भेषमा सदरमूकाम पाटन/लगनखेल आउने जाने गर्नु पर्दछ । त्यस्तै पुरुष तथा महिलाहरु घरमा काखे दुधे बालक छाडेर त्यस्तै आफ्ना बृद्ध बृद्धा बुवा आमा, सासु ससुरा छाडेर विभिन्न कामको लागि युवा युवतीहरु, नयाँ सम्भावना खोजिका लागि भविष्यको सपना बोकेर आधुनिक एवम् स्तरिय शिक्षा हासिल गर्न स्कुल तथा कलेज पढ्ने बाल बालिकाहरु घण्टौ घण्टा ट्राफिक जाममा फँस्दै केन्द्र धाउने परम्परा बढ्दै गएको छ ।

ग्वार्को–लुभु, सातदोबाटो–गोदावरी, सातदोबाटो–चापागाउँ–लेले, एकान्तकुना–छम्पी–टिकाभैरव, एकान्तकुना–बुँगमति–डुकुछाप सडक केन्द्र सरकारको विशेष पहलमा सडक बिस्तार आयोजना अन्तर्गत आज भन्दा ३ वर्ष अघि नै ठेक्का सम्झौता भई सडक विस्तार एवम् निर्माण कार्यको प्रकृया अगाडी बढेको अबस्थामा स्थानियवासी एवम् विभिन्न नगरपालिकाका निर्वाचित जनप्रतिनीधिहरु क्षेत्र नं. २ र ३ का निर्वाचित जनप्रतिनीधि त्यस्तै २ र ३ का प्रदेशका निर्वाचित जनप्रतिनीधिको असहयोगका कारण सडक विस्तार हुन नसकेको र आम दक्षिण ललितपुरवासिको दैनिकी बर्वाद भईरहेको तथा दक्षिण ललितपुरबाट मानिसहरु विभिन्न ठाउँमा पलायन हुने क्रम बढ्दो रुपमा रहेको आम दक्षिण ललितपुरवासिहरुलाई अवगत नै छ ।

एक नमूना उदाहरणको रुपमा विस्तारित सातदोबाटो–चापागाउँ सडक खण्डको प्राचिन सँस्कृतिले भरिपूर्ण सुनाकोठी बस्तीमा सडक सिमा भित्र बनाइएको पाटि त्यस्तै सुनाकोठी चौतारामा पुननिर्माण हुन लागेको चौतारो आफैमा सडक विस्तार अवरोधको नमूना हो । हामी दक्षिण ललितपुरवासी चाहन्छौ कि कुनै पनि समाज निर्माणको प्रमूख पक्ष भनेको त्यहाको सँस्कृति, सम्पदा, भेष भूषा, खानपान, जिवन शैली नै समाज हो । सँस्कृति, सम्पदालाई जिवन्त राख्न भविष्यका सुन्दर बाल बालिकाहरुलाई आफ्नो प्राचिन कला सँस्कृतिबारे जानकारी गराउन मानव समाजको विकास क्रमबारे अध्ययन गर्न यसको मौलिक सँस्कृति इतिहासबारे जानकारी गराउन सम्पदाको जगेर्ना गर्नै पर्दछ । सडक विस्तारका नाउँमा त्यस्ता प्राचिन सम्पदालाई भत्काउन बिर्गान हुँदैन । त्यस्तै गरेर कुनै पनि नागरिकलाई सुकुम्बासी पनि बनाउन हुँदैन । यो राज्यले सोच्नुपर्ने बिषय हो । कुनै पनि समाजको मौलिक संस्कृति सम्पदालाई नास गरेर आधुुनिकतामा जानु पर्छ र बिद्ममान प्राचिन बस्तिलाई बिगार्नु पर्छ भन्ने मान्यता पनि हाम्रो हैन तर बर्सौ देखि भगनावशेषका रुपमा रहेका/भएका अनाधिकृत बिषय बस्तुलाई उचित संरक्षण गरि निकास दिनुपर्ने आवश्यकता छ । त्यस्तै बिकल्प झनै महत्वपूर्ण बिषय हो । आज पनि बिकल्पमा जान सकेनौ भने हाम्रो जिल्लाको भबिष्य के होला ?

आम दक्षिण ललितपुर निर्बाचन क्षेत्र नं १ का नागरिक समूदायहरु, सडक विस्तार पनि नहुने, राज्यले बिकल्प पनि दिन नसक्ने, स्थानियले अबरोध सिर्जना गर्ने, त्यस्तै न्यायालयले समेत गलत निर्णय गर्ने यस्तो अवस्थामा हामीले हाम्रो दैनिकी बिगारेर पाटन/लगनखेललाई नै केन्द्र भनि निर्वाचन क्षेत्र नं २ र ३ सँग दैनिक दुखः पाएर टाँसिएर बस्नुपर्ने कारण केहि छ ? प्रशासिनक कामहरु जस्तै घर जग्गा रजिष्ट्रेशन, नागरिकता, पासपोर्ट, सवारी चालक अनुमति पत्र, अदालती काम कारबाही, उच्च शिक्षा, स्वास्थ्य उपचार, रोजगारी, कृषी/पशु सेवा एवम् अन्य कामका लागि किन सास्ती खेपेर पाटन/लगनखेल धाउने ? के हामीले दक्षिण ललितपुरको चापागाउँ, लेले, गोटिखेल, गोदाबरी, माल्टा, गिम्दी आसाङ्ग वा अन्य कुनै उपयुक्त ठाँउलाई दक्षिण ललितपुरको केन्द्र बनाएर ७८ औ जिल्ला घोषणा गर्न सक्दैनौं ? बेलैमा सोचौ समृद्घ भविष्यको ७८औं “दक्षिण ललितपुर” जिल्ला घोषणाको आधार तयार पारौं ।

तपाईंको प्रतिकृया