‘भ्रमको खेतीले मनै भाँचिएपछि…’ – रञ्जु दर्शना

रञ्जु दर्शना र रबिन्द्र मिश्रको अफवाह र नियोजित समाचारले वदनाम गर्ने प्रयास भइरहँदा रञ्जु दर्शना अझै निर्धक्क र सशक्त देखिएकी छन् । बिहिबार दिउँसो अनलाइन पत्रिकासँग दर्शनाले भनिन्, ‘जो तल्लो र नीच सोच भएकाले बदनाम गराउन खोजेको थियो, तर सफल हुन सकेन ।’

आफूसँग जोडिएर प्रकाशित बिना पुष्टिको समाचार आएपछि तत्कालै रञ्जु दर्शनाले समाचारबारे खण्डन गरेकी थिइन् । प्रकाशित समाचारले भ्रमित पार्ने र चरित्र हत्या गर्ने उद्देश्यले लेखिएको भन्दै दर्शना साइबर क्राइम विभागमा पुगेकी थिइन् । सोहीदिन समाचार प्रेषित गर्ने दुईजनालाई पक्राउ गरिएको थियो ।

रञ्जु दर्शना उनै हुन्, जो काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार भएपछि स्थानीय निर्वाचनताका चर्चित बनेकी थिइन् । उनै रञ्जुसँग अनलाइन पत्रिकाकी सुनिता बाटाजुले गरेको सम्वादको सम्पादित अंश ।

१. आधिकारिता पुष्टि नगरि लेखिएको समाचारविरुद्ध आक्रोश पोख्नुहुन्छ की मौन बस्नुहुन्छ ?
आक्रोश र मौनता भन्दा पनि अगाडी बढेर मैले कानुनी बाटो रोजेँ । समाचार प्रकाशित लगत्तै अपराध महाशाखा टेकुमा उजुरी दर्ता गराए । महाशाखाको टोलीले दुईजना ‘पत्रकार’ भन्नेहरुलाई पक्राउ गरेको थियो ।

२. समाचार लेखिनु पूर्व यहाँसम्म कुनै प्रश्न राखेको थियो ?
अहँ, राखिएन । मैले यो कुरा साथीहरुबाट थाहा पाएकी हुँ । आफ्नो समाचार साइटमा दर्शक बढाउन र चर्चामा आउन मेरो चरित्र हत्या गर्ने काम भएको यसबाट प्रमाणित भएको छ ।

मसालेदार समाचार दिने र आफ्नो साइटलाई चर्चामा ल्याउन यस्ता अनैतिक होडबाजीले जनमानसमा भ्रम फैलाउने काम गरिरहेको छ ।

३. जनमानसमा चर्चित अनुहार भइसकेको रंन्जु दर्शनाविरुद्ध यस्तो नियोजित समाचार किन बाहिरिएको जस्तो लाग्छ ?
यो समाजमा अगाडी बढिरहेको एउटा महिलामाथि सबैको दृष्टि परिरहेको हुन्छ । कसरी पछाडी पार्ने भन्ने सोच हुँदो रहेछ । यसकै एउटा नजीर बनेर यो समाचार बाहिरिएको हो जस्तो अनुभव भएको छ । यहाँ हाम्रो समाजमा एउटा दुविधा पनि छ, ‘कुन समाचार सही हो र कुन गलत हो ?’ सर्वसाधारणले कसरी थाहा पाउने ।

सबैको हातमा मोबाइल छ । जे समाचार देख्यो त्यही विश्वास गर्छन् । अनलाइन पोर्टलहरुले कस्तो समाचार कसरी प्रकाशित गरेका छन् भन्ने कुरा सरकारी तहबाट नै निगरानी हुनुपर्छ । मसालेदार समाचार दिने र आफ्नो साइटलाई चर्चामा ल्याउन यस्ता अनैतिक होडबाजीले जनमानसमा भ्रम फैलाउने काम गरिरहेको छ ।

‘चुप लागेर बसे’भने अरुको लागि लड्न सक्दिन भन्ने सोचेँ ।

४. गलत समाचारले मान्छेले कमाएको चर्चालाई एकाएक गिराउँछ, रञ्जु दर्शनाविरुद्धको यो समाचारले रञ्जुमा कस्तो प्रभाव पारिदियो ?
पक्कै पनि नराम्रो अनुभूति गरायो । मेरो परिवार र आफन्तहरुले यस्तो कुरा सुनेर चिन्ता व्यक्त गर्दा एकदमै दुःख लाग्यो । म यो समाजमा केहि परिवर्तन ल्याउँछु भनेर लागेको हुँ । यो समाज र बाटो सजिलो छैन । यहाँ धेरै बाधा र चुनौतीहरु आउँछन भन्ने कुरा पहिलादेखि नै बुझेकी थिएँ ।

चुप लागेर बसे भने अरुको लागि लड्न सक्दिन भन्ने सोचेँ । र, म जस्ता हजारौं महिलाहरुलाई चुप लागेर बस्नु हुँदैन भन्ने सन्देश दिन र उर्जा मिलोस् भन्ने उद्देश्य राखेर कानुनी बाटो अपनाएर अघि बढेकी हुँ ।

५. बिना प्रमाण र पुष्टि नभएका समाचार लेख्ने मिडिया र मिडियाकर्मीलाई के कस्तो कारवाही हुनुपर्छ जस्तो लाग्छ ?
छापा संस्करणका पत्रकारहरुको सुचना तथा संचार मन्त्रालयको अधिकारिक परिचयपत्र देखेकी छु । तर यी अनलाइन पत्रकारहरुलाई परिचयपत्र नचाहिने हो की ? र, सुचना तथा संचार मन्त्रालयबाट दर्ता प्रकृयामा नै कडाई हुनुपर्छ भन्नेमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छु ।

अमृत विष्ट र संगिता बाटाजुको सहयोगमा ।

तपाईंको प्रतिकृया