पारस ‘सरकार’को स्वास्थ्य खबर

काठमाडौँ ।

केहीसाता अघि ललितपुरको एक रिसोर्टमा रिल्याक्स मुडमा देखिएका पूर्वयुवराज पारस शाह यतिखेर नर्भिकमा छन् । पारसलाई हिजो पाटनमा पूजामा सहभागि भएर फर्किने क्रममा एक्कासी छाती दुखेको तत्कालै नर्भिक अस्पताल पुगेका थिए । पूर्वयुवराज पारसको स्वास्थ्य अवस्था खतरामुक्त रहेको नर्भिक अस्पतालले जनाएको छ ।

उपचारमा संलग्न प्राध्यापक डा. यादवदेव भट्टले पूर्वयुवराज शाह मुटुको मुख्य नसा नै पूर्णरुपमा बन्द रहेको अवस्थामा अस्पताल आइपुगेको र २० मिनेटमै सफल उपचार गर्न सकिएको जानकारी दिए ।

बन्द रहेको मुटुको अवरोध खुलाउन कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण कार्य सफलतापूर्वक सम्पन्न गरिएको उनको भनाई छ । हाल शाहलाई सीसीयूमा सारिएको चिकित्सकहरुले बताएका छन् । पूर्वयुवराज शाहलाई हृदयघात हुनुको मुख्य कारण वंशाणुगत भएको प्रा.डा. यादव देव भट्टले बताए ।

पूर्वराजा ज्ञानेन्द्रलाई पनि हृदयघातको समस्या भएको हुँदा पारसलाई पनि बंशाणुगत हृदयघात भएको र कोलेस्ट्रोल बढी भएको जनाइएको छ । यसअघि पनि २ पटक हृदयघात भइसकेको हुँदा पारसको मुटु एकदमै कमजोर रहेको र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुले बताएका छन् ।

अहिले पारसको उपचारमा प्रा.डा. यादवदेव भट्टको नेतृत्वमा डा. जेपी अग्रवाल, डा. नग्मा श्रेष्ठलगायत १४ जना स्वास्थ्यकर्मीको टिम खटाइएको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले बताए ।

तपाईंको प्रतिकृया