पुस्तकले सिकाउन बाँकी एउटा पाठ

समुन्द्र केसी

२०७५ कार्तिक ८ गते । दशैँ बिदापछि बिद्यालय लागेको पहिलो दिन । दशैँमा नयाँ ठाउँ घुमेर, नयाँ कुरा देखेर, नयाँ अनुभव बटुलेर बिद्यार्थीहरु बिद्यालय आएका थिए । म कक्षा कोठामा प्रबेश गर्नु बितिकै सबैको मुहार हेरे । उनीहरुको कलिलो उज्यालो मुहारहरुले धेरै कुराहरु भन्न आतुर देखिन्थ्यो ।

हुन पनि हो धेरै दिन भईसकेको थियो । बिद्यार्थीहरु ४ भित्ता २ झ्याल १ ढोकाभित्र सधैं पढाईने र घोकाइने किताबी ज्ञानबाट टाढा रहेको । यतिखेर त उनीहरु रमाइला पल बिताएर उर्जासहित विद्यालय फर्किएका !

मैले उनीहरुको मनोभावना बुझेर उनीहरुसँग सोधे, ‘तिमीहरुको दशैं कस्तो रह्यो र किताबबाहिर नयाँ कुराहरु के के सिकौ त ?’ यति भन्न नपाउँदै जङ्लमा चराहरु चिरिबिरी गरे जस्तै मनमा भएका सबै कुराहरु उनिहरुले पोखे । धेरैले आआफ्नो दशैंका बारेमा भनिर एकजना बिद्यार्थीले मेरो दायाँहात समाउँदै भन्यो, ‘मेरो त योपटक टीका भएन’ उनले थपे, ‘मेरो हजुरबुबा बित्नुभयो ।’ एकछिन कक्षाकोठा स्तब्ध बन्यो ।

म एकटक्क सोच्न बाध्य भएँ, ‘जीवन जिउन सिकाउने हाम्रा पुस्तकले मरेपछि मलामी कसरी जाने र लाने भन्ने कुरा चाहिँ नसिकाउने रहेछ ।’

फेरि मैले सोधे, ‘नयाँ कुरा चाहिँ के के सिक्यौं ?’ अनि फेरि एकपटक कक्षाकोठाभरि हल्ला मच्चियो । प्रत्येक विद्यार्थीले पिङ हालेको देखेको र सिकेको बताए । कोहीले नयाँ ठाउँ घुमेको र नयाँ ठाउँ चिनेको कुरा सुनाए । कोहीले भने मासु पकाउन सिकेको हाँसेर सुनाए । तर सुबोध भने चुपचाप थियो । सुबोध जसको हजुरबुबा बितेको थियो र योपटक दशैं मनाउन सकेन । मैले अकस्मात् सोधे, ‘तिमीले चाहिँ केही सिक्यौं ?’ उनले भने, ‘मैले यो दशैंमा मलामी कसरी जाने भन्ने सिके ।’ एउटा सानो बालकको मुखबाट यो सुन्ने बितिक्कै म स्तब्ध भएँ । अचानक आँखा रसाए । र, दायाँ हात उसको काँधमा राखे । ऊ बस्यो ।

म भने विचलित थिएँ । कक्षाकोठा शून्य र अँध्यारो लाग्न थाल्यो । गुम्सिएको महसुस भयो वातावरण । म एकटक्क सोच्न बाध्य भएँ, ‘जीवन जिउन सिकाउने हाम्रा पुस्तकले मरेपछि मलामी कसरी जाने र लाने भन्ने कुरा चाहिँ नसिकाउने रहेछ ।’ कक्षाकोठामा घण्टीको आवाज बजेको सुनेपछि म झंसग हुँदै हत्केलाले आँखालाई छोपेर बाहिर निस्किएँ ।

केसी पेशाले शिक्षक हुन् ।

तपाईंको प्रतिकृया