हस्तलिपिलाई फन्ट बनाए पौडेलले

काठमाडौँ, वैशाख २५ । कवि तथा कलाकार रमेश पौडेल नेपाली साहित्यिक वृत्तमा राम्रा अक्षर लेख्ने कवि तथा कलाकारका रुपमा चिनिन्छन् । उनले कविता मुक्तकका अतिरिक्त चित्रकलामा पनि समय खर्चँदै आएका छन् ।

उनले करिब छ सयको हाराहारीमा पुस्तकका आवरण चित्र पनि कोरेका छन् । उनै रमेशले २०७४ सालको वर्षभरि विभिन्न शिल्पका डेढ दर्जन फन्ट बनाएर नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा दर्ता गराएका छन् ।
फन्टको नामाकरण आवरण श्रृंखलाबाटै जुराएका पौडेलले  पहिलो फन्टको नाम आफूलाई धुलौटोमा कखरा लेख्न सिकाउने स्वर्गीय पिताजीको नामबाट ‘यज्ञ’ राखेका छन् ।

यस्तै आमा पवित्रा, जीवनसंगिनी सरिता, छोरी आकृति, छोरा आदर्श र आफ्नै नाममा पनि भिन्न शैली शिल्पका फन्ट बनाएका छन् । प्रचलित फन्टमा शुद्धसँग टाईप गर्न देखिएका समस्या समाधान हुनेगरी बनाईएका फन्टहरूमा किताब छाप्दा आकर्षक देखिने टेक्स्ट फन्ट, केही हेडिङ र केही (कलात्मक) फेन्सीफन्ट रहेका छन् ।

आफ्नै भाषा र लिपिप्रति टाढिँदै गएको अहिलेको पुस्ता डिभाइसमै रमाउने भएकोले कखरा लेख्न पनि भुल्ने हुन कि भन्ने पौडेलले हातैले सुन्दर अक्षर लेख्न सकिन्छ भन्ने सन्देश दिन यस्ता फन्ट बनाएकोे बताए । लिपि साधनामा व्यस्त पौडेल अबका दिनमा यी फन्ट कसरी विश्वव्यापी बनाउन सकिन्छ भन्ने सोचमा छन् ।

तपाईंको प्रतिकृया