‘नाइटिङ्गेल स्कूलले चर्काे शुल्क असुलेको छैन’

रंजना प्रधान
प्रिन्सिपल
नाइटिङ्गेल स्कुल

नयाँ वर्ष २०७५ को सुरुवातदेखि नै देशका विद्यालय भर्ना अभियानमा छ । नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यालयहरुले लिने चर्काे शुल्कको व्यापक चर्चा चल्ने गरेको छ । यसवर्ष पनि संचारमाध्यमहरुमा अचाक्ली शुल्क लिने केही विद्यालयहरुको नामसहित समाचारहरुले प्राथमिकता पाएका छन् । किन विद्यालयहरुले अहिले चर्को शुल्क लिइरहेका छन् ? सामान्य जीवनयापन गर्नेका छोराछोरीले शिक्षा लिनै नपाउने अवस्था किन बन्दैछ ? लगायतका विषयमा निजी विद्यालय नाइटिङ्गेल स्कुलकी प्रधानाध्यापक रंजना प्रधानसँग अनलाइन पत्रिकाकी प्रबन्ध सम्पादक सुनिता बाटाजुले गरेको शिक्षा सम्वाद ।

यहाँ प्रधानाध्यापक रहेको विद्यालय नाइटिङ्गेलपनि महंगो विद्यालयभित्रै पर्छ ?
होइन । केही स्कुलहरु अचाक्ली महँगो छन् र तिनीहरुले चर्को शुल्क लिने गरेका रहेछन्, त्यो उनीहरुको कुरा हो । तर ती स्कुलहरुले चर्को शुल्क लियो भनेर आउने समाचारहरुमा प्रत्येक दिन जसो हाम्रो स्कुलको नामपनि जोडिएर आउँछ । यो कुरामा मेरो आपत्ति छ । भ्रम चिर्नुपर्ने अवस्था नै आएको छ । हाम्रोमा पुरानो विद्यार्र्थीका अभिभावकलाई शुल्कको विषयमा थाहा छ । तर नयाँ भर्नाका लागि आउने अभिभावकमा भ्रम सृजना हुने गरेको छ । महँगो शुल्क लिने स्कुल र नाईटिङ्गेलको शुल्क दाँजेर नै अनुमान लगाउन सकिन्छ । सर्वसाधारणले तिर्न नसक्ने गरी शुल्क निर्धारण गर्ने गरेका छैनौं ।

ठुला र नाम चलेका स्कुलहरुको टार्गेट विद्यार्र्थी समूह हुन्छ, तपाईंको स्कुलको पनि त्यस्तै होइन र ?
हामीले भर्नालाई टार्गेट गरेका छौं । आम नागरिकलाई फोकस गुर्न नै हाम्रो सुरुदेखिको उद्देश्य रहेको छ । हामी यत्तिकै स्थापित स्कुल बन्न सफल भएका छैनौं । यो अभियानमा सम्पूर्ण स्कूलभित्रको गुणस्तरिय टिम वर्कको फल हो । यो स्कूलले वि.सं २०७०, २०७१ र २०७२ सालको राष्ट्रिय तथा क्षेत्रीय शिक्षा पुरस्कार प्राप्त गरेको छ । सबैले गुणस्तरीय शिक्षा पाउन् भनेर नै शुल्कपनि अत्यन्तै तल राखेर पढाईमा राम्रो परिणाम दिने हाम्रो प्रतिवद्धता रहेको छ । र, त्यसमा सफल हुँदै आएका पनि छौं ।

यस वर्ष वार्षिक र मासिक शुल्कमा कति वृद्धि गर्नुभयो ?
यस वर्ष विभिन्न कठिनाई र भवितव्य अप्ठ्यारालाई सहज बनाउन सकिने दूरलक्ष्य राख्दै विद्यार्थीहरुमा पनि उत्कृष्ट शिक्षाको वचनवद्धता कायम राख्न १० प्रतिशत शुल्क वृद्धि गरेका छौं । त्यस्तै छात्राबासमा बस्ने र दिवा छात्रावासमा बस्नेको लागि सुविधा लिए अनुसारको अतिरिक्त तिर्नुपर्ने हुन्छ । त्यो ऐच्छिक विकल्पमा राखिएको हो ।

न्युनतम शुल्क दर के कति रहेको छ ?
हाम्रो न्युनतम मासिक शुल्क कक्षा १ देखि ३ सम्मको समान रहेको छ, ३ हजार ६ सय । त्यस्तै ४ देखि कक्षा ६ सम्म ४ हजार । कक्षा ७ र ८ शुल्क ४ हजार ४ सय । कक्षा ९ र १० लाई ४ हजार ७ सय निर्धारण गरेका छौं । बस, खाजा, खाना र दिवा छात्राबास तथा छात्राबासको सेवा लिनेले अतिरिक्त शुल्क सेवा लिए वापत तिर्नुपर्ने हुन्छ । बार्षिकको क्रमशः कक्षा १ देखि ६ कक्षासम्म ८ हजार निर्धारण गरेका छौं । त्यस्तै कक्षा ७ देखि १० लाई वार्षिक १० हजार रहेको छ ।

भर्ना शुल्क थोरै देखाएर अतिरिक्त शुल्कमा ढाड सेकाउने होला नि ? कैयौं विद्यालयहरु त्यस्ता पनि छन् ?
अतिरिक्त शुल्क भनेको सुविधाका आधारमा तिर्ने हो । अन्य स्कुलको नीति होला तर हामीले वार्षिक शुल्क शिक्षा नियमावलीले तोकेको र यो शीर्षकमा यति शुल्कमात्रै लिने भनेपछि त्यत्तिमात्रै लिने हो । हाम्रोमा नृत्य, कला र खेललगायतका शुल्क एक पटक वार्षिकरुपमा लिएपछि पुनः कुनै शिर्षकमा लिने चलन छैन । यो पटक भने हामीले अभिभावकहरुको आग्रहमा विद्यालयको झोला उपलब्ध गराएका छौं । विद्यालयको लोगोसहित र विद्यार्थीहरुको परिचयपत्र राख्ने मिल्ने झोला हामीले सुपथ मूल्यमै विद्यार्थीहरुको लागि उपलब्ध गराएका हौं ।

शिक्षा नियमावलीले तोकिदिएको नियम विपरितसमेत शुल्क बढाउने प्रचलन छ, यस विषयमा के भन्नुहुन्छ ?
सबैले आफ्नो विद्यालयको शुल्क तोक्न पाउँछ, त्यो तोक्ने अधिकार विद्यालयलाई छ । तर त्यसको औचित्यको पुष्टि पनि हामीले गर्नुपर्छ । हामीले शुल्क लिइसकेपछि त्यस वापत दिने सेवाको औचित्य पुष्टि गर्नुपर्छ । होइन भने, विद्यार्थी टिकाइरहन र विश्वसनियता बनाई राख्न संभव हुँदैन । र, स्कूलका संस्थापक अध्यक्ष टिएल चौधरी सरपनि शिक्षाप्रेमी र राष्ट्रको लागि केही गर्नुपर्छ भन्ने अभियानमा हुनुहुन्छ । देशको मन्त्री भईसक्नुभएका टिएल सरकै नेतृत्वमा स्कूल संचालित छ । यसकारण हामीसँग पनि सामाजिक उत्तरदायित्व पनि जोडिएको छ ।

तपाईंको प्रतिकृया