टुंगो लागेन सलमानसँग स्टेज सेयर गर्ने नेपाली कलाकारको !

loading...

काठमाडौँ, माघ २४ । सलमान खानसँग स्टेज सेयर गर्ने नेपाली कलाकार अझै टुंगो लागेको छैन । आयोजकका अनुसार नेपाली कलाकार स्टेज कार्यक्रममा व्यस्त भएकाले उनीहरुसँग सल्लाह गर्न केही ढिलो भएको हो ।

आयोजक ओडिसि इन्टरटेनमेन्टले दुई–तीन दिनभित्रै कलाकार टुंगो लाग्ने बताएको छ । ओडिसि इन्टरटेनमेन्टका सिमान्त गुरुङले भने, “कम्तिमा ५ जना राम्रा नेपाली कलाकार लिनेछौं, तर अहिले यसलाई नै लिने भन्ने फिक्स भैसकेको छैन ।”

गुरुङका अनुसार प्रियंका कार्की र कार्टुन क्रुजसँग भने एक चरणको कुरा भइसकेको छ । सबैले ट्रयाकमा गाउने भएकाले सांगीतिक ब्यान्ड भने कार्यक्रममा सहभागी गराइने छैन ।

फागुन २६ गते बलिउड स्टार सलमान खान नेपाल आउने निश्चित भएपछि आयोजकले उनीसँग नृत्य गर्ने तथा गाउने कलाकारको खोजी गरेको हो । महोत्सवको मौसम भएकाले अधिकांश लोकप्रिय कलाकार स्टेज कार्यक्रममा व्यस्त छन् ।

‘द–दबङ द टुर’ अन्तर्गत सलमानसँगै नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भांगडा डान्सर ‘मिड बोस’ पनि आउने छन् । कन्सर्टमा सलमान र कट्रिनाले एकसाथ स्टेजमा प्रस्तुति दिनेछन् ।

सलमानले करिब ३ घण्टा स्टेजमा बिताउने आयोजकले जनाएको छ । आयोजक अहिले प्रोडक्सन र सुरक्षा व्यवस्थापनको काम गरिरहेको गुरुङले जानकारी दिए ।

५० हजार दर्शक उपस्थित हुने अपेक्षा आयोजकले गरेको छ । “ब्रायन एडम्स आउँदा झण्डै २० हजार दर्शकले टिकट किनेका थिए,” गुरुङले भने, “ब्रायन एडम्सका तुलनामा सलमान नेपाल र नेपालीका लागि परिचित भएकाले ५० हजार दर्शक आउने अपेक्षा गरेका छौं । ”

१५ करोड रुपैयाँ टिकटबाट उठाउने योजना रहेको गुरुङको भनाइ छ । सलमानले कति पारिश्रमिक लिन्छन् भन्ने जिज्ञासामा गुरुङ भन्छन्, “हाम्रो कम्पनीले यस्ता कार्यक्रम यस अगाडि पनि गरिसकेकाले हाम्रो आफ्नै नियम छ । सोहीअनुसार पेमेन्ट गर्छौं ।” सलमानले लिने रकम उनले खुलाउन चाहेनन् ।

१५ सयभन्दा धेरै सुरक्षाकर्मीले कार्यक्रमस्थलमा सुरक्षा दिनेछन् भने ५ सय प्राइवेट सुरक्षाकर्मी परिचालन गरिनेछ । ४ सयजना स्वयंसेवकले कार्यक्रमलाई व्यवस्थित गर्नेछन् । टिकटदर ३ हजार, ५ हजार, १० हजार र २० हजार रहेको गुरुङले जानकारी दिए । सलमान फागुन २५ गते नेपाल आउनेछन् । उनी विमानस्थलबाट सिधै होटल सोल्टी जाने छन् । सलमानसँगै ७ जना कलाकारका साथमा ९० जनाको टोली होटल सोल्टीमा रहनेछ ।

चलचित्र फिल्म ‘टाइगर जिन्दा है’ को सफलता साट्ने क्रममा सलमान नेपाल पनि आउन लागेका हुन् । सलमान सन् १९९४ पछि दोस्रोपल्ट नेपाल आउन लागेका हुन् ।

तपाईंको प्रतिकृया
Loading...