ललितपुरमा होस्टल दर्तामा कडाई !

loading...

ललितपुर
नेपाल होस्टल एशोसिएसन ललितपुरको सिफारिश बिना होस्टल दर्तामा कडाई गरिने भएको छ । नेहा ललितपुरले होस्टल संचालनमा कडाई गर्नुपर्ने आवाज उठाइरहँदा सम्बन्धित निकायले आवश्यक सहयोग गर्ने वाचा गरेका हुन् । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी महादेव पन्थी, उपमेयर गिता सत्याल, ललितपुर प्रहरी प्रमुख गणेश ऐर र नगर प्रहरी प्रमुख कदमलाल महर्जनले नेहा ललितपुरको अभियानमा साथ दिने भएका हुन् ।

नेहा ललितपुरकी अध्यक्ष सुनिता बाटाजुको नेतृत्वमा गएको टोलीले ललितपुर महानगरपालिकाकी उपमेयर सत्यालसँगको भेट स्मरणीय रहेको बताइन् । भर्खरैको यो भेटमा नेपाल होस्टल एशोसिएसनका केन्द्रिय अध्यक्ष रहिसकेका राजिव जोशी, नेहा ललितपुर सल्लाहकारद्धय मदन पौडेल/पूजा जोशी र सदस्य धन राईलगायतको उपस्थिती थियो ।

ललितपुर महानगरपालिकाको होस्टल दर्ता गर्दा सिफारिश पत्र अनिवार्य गरिए कर उठ्ने कार्यमा पनि सकारात्मक प्रयास हुने राजश्व शाखाका प्रमुख डिल्लीराज शाक्यले बताए । यसैबीच, नेहा ललितपुरको संयोजनमा ललितपुर महानगरपालिकाको साथमा होस्टल अनुगमन संयन्त्र बन्ने भएको छ । यो अनुगमन संयन्त्रमा सम्बन्धित निकायका तर्फबाट एक–एकजना प्रतिनिधि रहनेछ । यो संयन्त्रले होस्टल अनुगमनलाई कडाई गरेर मर्यादित बनाउने अभियानलाई सघाउन सकिने नेहा ललितपुरकी सचिव निमा श्रेष्ठले बताइन् ।

तपाईंको प्रतिकृया
Loading...