कुलमानको यस्तो चेतावनी

​१५ दिनभित्र विद्युत चोर्न नछाडे ललितपुरमा ‘ब्ल्याक आउट’ गर्ने

loading...

काठमाडौँ, माघ १८ । नेपाल विद्युत प्राधिकरणले ललितपुरका विभिन्न क्षेत्रमा संगठित रुपमै विद्युत चोरी भइरहेको भन्दै कडा कदम चालेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत चोरी नियन्त्रणमा सहयोग नगरे ललितपुरमा ब्ल्याक आउट अर्थात् विद्युत कटौती गर्ने चेतावनी दिएका छन् ।

घिसिङले वषौंदेखि संगठित रूपमा विद्युत चोरी भएको क्षेत्रका उपभोक्तालाई विद्युत चोरी नगर्न र गरेको पाइएमा त्यसलाई हटाउन १५ दिनको अल्टिमेटम दिएका छन् । ‘राजधानीकै उपभोक्ता संगठित रूपमा विद्युत चोरीमा संलग्न हुनु मुलककै लागि दुर्भाग्य र बेइज्जति हो, १५ दिनभित्र चोरी नियन्त्रणमा सहयोग नगरे हामी ब्ल्याक आउट गर्न बाध्य हुने छौं,’ घिसिङले भने, ‘त्यसपछि जस्तोसुुकै ठूलो दबाब आए पनि निर्णयबाट पछि फर्कने छैनौं, राजधानीलाई विद्युत चोरीमुक्त बनाउन सबैको सहयोग र साथ चाहिन्छ।’

ललितपुरको भित्रि सहरी क्षेत्र पर्ने पाटन स्थानीय फिडरअन्तर्गत लुखुसी, च्यासल, मंगलबजार, इखालखु, धालाछें, सौगल, दुपाट, पिन्छे, पिलाछे लगाएतका स्थानमा संगठित रूपमा विद्युत चोरी भइरहेको प्राधिकरणले जनाएको छ ।

गोदावरीतर्फ विद्युत आपूर्ति हुने फिडर अन्तर्गत हरिसिद्धी, गुहीटोल, ठैव, वांडेगाउ, लुभ जाने फिडर अन्तर्गत सानागाउँ, सिद्धिपुर, लुभुबजार, लाकुरी भञ्ज्याङमा विद्युत अत्याधिक विद्युत चोरी हुने क्षेत्र भएको प्राधिकरणको अनुगमनपछि पत्ता लागेको छ ।

त्यसै गरी, चापागाउं जाने फिडर अन्तर्गत पर्ने सुनाकोठी, ठेचो, लेले, चापागाउं लगायतका क्षेत्रका बासिन्दाले संगठित रुपमा विद्युतचोरी गरेको फेला परेपछि चोरी नियन्त्रण गर्न ब्ल्याक आउट गर्न लागिएको घिसिङले बताए ।

ती क्षेत्रमा औसत विद्युत चोरी ५० प्रतिशत छ । प्राधिकरणले चोरीका कारण यी स्थानहरुबाट मात्रै वार्षिक करिव ५० करोड रुपैयाँ राजश्व गुमाइरहेको छ। उपभोक्ताले जोखिमपूर्ण रूपमा विद्युतको प्रयोग गरिरहेका छन् । यसरी प्रयोग गरिएको विद्युत असुरक्षित हुने हुँदा ठूलो दुर्घटनासमेत हुने सम्भावना उत्तिकै रहेको प्राधिकरणले जनाएको छ।

विद्युत वितरण लाइनबाट हुकिङ गर्ने, मिटर नराख्ने, राखेका मिटर पनि उल्टो पार्ने, मिटरमा प्वाल पारी किला हालेर घुम्न नदिने, कर्मचारीलाई मिटर रिडिङ गर्न नदिने लगायतका काम संगठित रूपमै भइरहेको प्राधिकरण लगनखेल वितरण केन्द्रका प्रमुख विरेन्द्र सिंहले बताए ।

‘चोरीका यस्ता क्रियाकलाप नियन्त्रण गर्न जाँदा स्थानीयबाट संगठित रूपमै हाम्रा कर्मचारीमाथि आक्रामण हुने गरेको छ’,उनले भने ,‘यसमा स्थानीय राजनीतिक र प्रशासनिक नेतृत्वको सहयोग पनि उत्तिकै चाहिन्छ।’

प्राधिकरणकाअनुसार, चोरी नियन्त्रणका लागि विद्युत वितरणको नांगो तारको सट्टा माइन्सुलेटेड एबीसी केवल फेर्ने, सडक वत्ति मिलाउने, ट्रान्सफर्मर फेर्ने लगायतका काम व्यापकरुपमा भइरहेको छ।

चोरी नियन्त्रणका लागि कार्यकारी निर्देशक घिसिङ आफैं अग्रसर भएर अभियानमा सहयोगको आग्रह गर्दै ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन, प्रमुख जिल्लाअधिकारी महादेव पन्थ, प्रहरी प्रमुखसँग छलफल गरेका छन् । उनले ललितपुरलाई विद्युत चोरीमुक्त जिल्ला बनाउन र चोरी नियन्त्रणमा प्राधिकरणले चालेका कदममा पूर्ण रूपमा सहयोग गर्न आग्रह गरिएको बताए ।

ललितपुरमा जस्तै भक्तपुर क्षेत्रमा पनि चोरी व्यापक रहेको र यस क्षेत्रमा पनि क्रमिक रुपमा चोरी नियन्त्रणका आक्रामक कार्यक्रमहरु सञ्चालन गरिने घिसिङले जानकारी दिए । गत असारसम्ममा प्राधिकरणको प्रणालीमा २२.९ प्रतिशत विद्युत चुहावट छ । चालु आर्थिक वर्षमा यसलाई घटाएर २० प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ । तीन वर्षभित्रमा प्रणालीमा रहेको चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ ।

तपाईंको प्रतिकृया
Loading...