अमेरिकन ब्यान्डको नेपालमा नि:शुल्क कन्सर्ट

loading...

काठमाडौँ, माघ १० । अमेरिकन गायक एवं र्‍याप एक्टिभिस्ट आइशा फुकुशिमा र टोलीको नेपाल कार्यक्रमको नयाँ तालिका तय भएको छ । आइशाको ब्यान्डसँगै नेपाली कलाकारहरुले माघ १२ गते नेपालगञ्ज र माघ १३ गते काठमाडौंमा प्रस्तुति दिने भएको हुन् ।

यसअघि गत सोमबारको लागि काठमाडौं कार्यक्रम तोकिएको थियो तर प्राविधिक कारणले कन्सर्ट स्थगित भयो ।

नेपालगञ्जमा सडक डिभिजन कार्यालय परिसरमा आइशाको ब्यान्डसाथै सुगम पोखरेल, प्रमोद खरेल र कार्टुन क्रुजले प्रस्तुति दिनेछन् । त्यस्तै काठमाडौंमा जावलाखेल फुटबल मैदानमा नेपाली कलाकारतर्फ दीपक बज्राचार्य, रिदम ब्यान्ड, लाउरे, कार्टुन क्रुज र नेपाल हिपहप फाउन्डेसनको प्रस्तुति रहनेछ । नि:शुल्क प्रवेश व्यवस्थासहित कार्यक्रम आयोजना हुने बताइएको छ ।

आइशा र ब्यान्डले र्‍याप एक्टिभिजम केन्द्रित कार्यशाला, गोष्ठी र प्रस्तुतिहरु समेत सञ्चालन गर्नेछन् ।

मङ्गलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आइशाले नेपाली गीत पनि गाउने जानकारी दिइन् ।भनिन्,’नेपालमा दोस्रोपटक सार्वजनिक कन्सर्ट गर्न पाउँदा धेरै नै खुशी छु ।’

यसअघि सन् २०१७ मा उनी नेपाल आएर विभिन्न शहरमा कन्सर्ट गरेकी थिइन् । ‘र्‍याप्टिभिज्म’ नामक अभियानको अभियान्ता रहेकी उनी अमेरिकन राजदूतावासले आयोजना गरेको सांगीतिक कार्यक्रममा सहभागी भएकी हुन् ।

तपाईंको प्रतिकृया
Loading...