दर्शन र स्वास्थ्य जाँच एकैठाउँ

loading...

ललितपुर महानगरपालिका वडा नं. १९ थबुस्थित अग्निशालामा लागेको मकर संक्रान्ति मेलामा उपत्यकाका विभिन्न क्षेत्रका भक्तजन जम्मा भएका थिए । अग्निशालाको अग्नि दर्शन गरी घ्यू, चाकु, तरूल, पालुंगको सागसहित सिधा दान गरी मेला भरेका थिए ।

यसका साथै तिर्थालुहरूले उक्त मेलाको अवसरमा आफ्नो, परिवारको र आफन्तको ग्रहदशा शान्तिका निम्ति जप, होम गर्न लगाएका थिए । मेलामा उक्त अग्निशालाका अग्निहोत्री विष्णु मोहनधर राजोपाध्यायले भक्तजनलाई टीका तथा प्रसाद वितरण गर्नु भएको थियो । मेलाकै अवसरमा अग्निशाला व्यवस्थापन समितिको समन्वयमा गणेशमान सिंह मेमोरियल अस्पतालले नाक, कान, घाँटीका डा. अर्चना अमात्यको अगुवाईमा निःशुल्क स्वास्थ्य शिविर सहित तीर्थालुहरूलाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।

उक्त मेलालाई व्यवस्थित गर्न स्थानिय पुबोस् स्कूलका विद्यार्थीहरू, ललितपुर उपाकर्म गुठीका सदस्यहरूले स्वयंसेवा गरेका थिए । उक्त मेलाको अवसरमा अग्निशाला व्यवस्थापन समितिले अघिल्लो दिन अग्निशाला क्षेत्रको सरसफाई कार्यक्रम आयोजना गरेको थियो भने मेलाको भोलिपल्ट पनि सरसफाई कार्यक्रम सञ्चालन गरिने जानकारी मेला व्यवस्थापन उपसमितिका संयोजक मिलन राजोपाध्यायले दिनुभयो । यसका साथै उक्त समितिले हाल अग्निशालाको अग्नि कुण्डहरू र अग्निहोत्री आवास भवनको जीर्णोद्धार गरिरहेको छ  ।

तपाईंको प्रतिकृया
Loading...