रोनाल्डोबिना रियल मड्रिडको सहज जित

loading...

एजेन्सी । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिडले सहज जित निकालेको छ । बिहिबार राति भएको पहिलो लेगमा रियल मड्रिडले १० खेलाडीमा सिमित नुमान्सियालाई ३ – ० ले पराजित गरेको हो ।

नुमान्सियाको मैदानमा भएको पहिलो लेगमा रियल स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोबिना मैदान उत्रिएको थियो । रोनाल्डोलाई आराम दिइएको खेलमा रियलको जितमा ग्यारेथ बेल, इस्को र बोर्जा मायोरालले समान एक एक गोल गरे । दुई टोलीबीचको दोस्रो लेग रियलको घरेलु मैदानमा हुनेछ ।

दोस्रो डिभिजनको क्लब नुमान्सियाविरुद्ध रियलले खेलको ३५ औं मिनेटमा बेलको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । पाएको पेनाल्टीमा बेलले गोल गर्दै पहिलो हाफमा रियललाई १ – ० को अग्रता दिलाए ।

पहिलो हाफमा १ – ० ले पछि रहेको घरेलु टोली नुमान्सिया दोस्रो हाफमा १० खेलाडीमा सिमित भयो । खेलको ६० औं मिनेटमा पापे डाइमान्काले दोहोरो पहेली कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिदा अन्तिम ३० मिनेट नुमान्सिया १० खेलाडीमा सिमित बनेको थियो । जसको फाइदा रियलले उठायो । खेलको ८९ औं मिनेटमा पाएको पेनाल्टीमा इस्कोले गोल गर्दै रियललाई २ – ० को अग्रता दिए । त्यसपछि खेलको इन्जुरी समयमा बोर्जाले गोल गर्दै रियललाई ३ – ० को सहज जित दिलाए ।

तपाईंको प्रतिकृया
Loading...