अस्थायी शिक्षक परीक्षा प्रक्रिया अगाडि बढ्यो, मिति कहिले त ?

loading...

काठमाडौं÷अस्थायी शिक्षकको परीक्षाबारे शिक्षक सेवा आयोगले काम अगाडि बढाएको छ । आन्दोलनरत विद्यार्थीसँग मंसिर मसान्तसम्म कुनै प्रक्रिया अगाडि नबढाउने सहमति गरेको आयोगले पुस सुरु भए लगत्तै काम अगाडि बढाएको आयोगका प्रशासकीय अधिकृत डा तुलसीप्रसाद थपलियाले जानकारी दिए ।
एक महिना अगाडि शिक्षक लाइसेन्स लिएर बसेका विद्यार्थीहरुले आयोगको मुलगेटमा रिल अनसन गर्दा परीक्षाको प्रक्रिया प्रभावित भएको थियो । शिक्षा ऐनको नवौं संशोधनमा अस्थायीलाई ७५ प्रतिशत आरक्षण दिँदा खुला प्रक्रियाबाट आउन चाहने विद्यार्थीहरुका लागि अन्याय भएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए । फलस्वरुप आयोगले एक महिनाका लागि प्रक्रिया अगाडि नबढाउने सहमति गर्दै आन्दोलन स्थगित गर्ने सहमति गरेको थियो । अहिले मुलुकभर ७ लाख लाइसेन्स लिएका विद्यार्थीहरु छन् ।
पुस महिना सुरु भएसँगै आयोगले सम्पूर्ण केन्द्रबाट फारम संकलन गर्दैै रुजु गर्ने काम सुरु गरिसकेको छ । आयोगका अनुसार कम्तीमा २ साताभित्रमा रुजु गर्ने सम्पूर्ण काम गरिसक्ने छ । त्यसपछि मात्रै परीक्षाको मिति तोकिने छ । यस अर्थमा पुस २० गतेभन्दा अगाडि परीक्षाको मिति तोकिने अवस्था छैन् ।
पटक–पटक सर्दै आएको परीक्षा यस पटक पनि सञ्चालन गर्न सहज छैन् । एकातिर असन्तुष्ट अस्थायी शिक्षकहरु आन्दोलनमा छन भने अर्कोतर्फ विद्यार्थीहरु पनि आन्दोलनमा छन् । सबैका माग पूरा नहुँदै आयोगले परीक्षा सञ्चालन गर्नका लागि उती सहज छैन् । आयोगले नियमित रुपमा आफ्नो काम अगाडि बढाए पनि परीक्षा सञ्चालनका गर्नका लागि विभिन्न समस्यासँग जुध्नै पर्ने हुन्छ ।
एकातिर आन्दोलनरत समूहका माग पूरा गरेर जाने अवस्था पनि सहज छैन भने अर्कोतर्फ अहिलेकै अवस्थामा परीक्षा सञ्चालन गर्दा अर्को आन्दोलन सुरु हुने निश्चित जस्तै छ । त्यसका लागि कतिपयले शिक्षा ऐनमा १० औं संशोधन नभइ परीक्षा हुन नसक्ने दाबी गरेका छन् । सरोकार पक्षहरु अहिले देखिएका सबै खाले अनुसन्तुष्टीलाई समेट्नका लागि १० औं संशोधन आवश्यक रहेको बताउँदै आएका छन् ।

तपाईंको प्रतिकृया
Loading...