केशव स्थापितको यस्तो दावी

‘३ नम्वर प्रदेशकाे मुख्यमन्त्री म हुँ’

loading...

काठमाडौँ, पुस ६ । काठमाडौं ६ बाट प्रदेशसभामा निर्वाचित सांसद केशव स्थापितले ३ नम्बर प्रदेशको मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । उनले आफू पार्टी निर्णय वा संसदीय दलको चुनाव दुवै प्रक्रियाबाट मुख्यमन्त्रीको दाबेदार बन्ने बताएका छन् ।

स्थापितले मुख्यमन्त्रीमा आफ्नो दावी रहेको सार्वजनिक गरेका हुन् । ३ नम्बर प्रदेशको मुख्यमन्त्रीका लागि पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायतका नाम आइरहेका बेला स्थापितले आफू मुख्यमन्त्री बन्ने दावी गरेका हुन् ।

बुधवार साँझ पत्रकारहरुसँग कुरा गर्दै एमाले नेता स्थापितले भने- पार्टीमा मभन्दा सिनियर नेताहरु पनि यो प्रदेशबाट निर्वाचित हुनुभएको छ । तर केपी ओलीका देश विकासको स्पिरिटसँग मेरा योजनाहरु मिल्छन् । काम गरेर देखाउने चुनौति मोल्छु भनेरै म प्रतिनिधिसभाको उम्मेदवार नबनी प्रदेशमा आएको हुँ । मलाई आशा छ पार्टीले मलाई यो प्रदेश बनाउने जिम्मेवारी दिनेछ ।

स्थापितले आफूले राजधानीको मेयर हुँदा गरेका केही कामको उदाहरण दिँदै ५ वर्षभित्र ३ नम्बर प्रदेशको पूर्वाधार विकासमा चमत्कार गर्ने बताए । भावी प्रधानमन्त्री ओली र आफ्नो स्पिरिट मिल्ने र ओलीका योजना कार्यन्वयनका लागि आफू मुख्यमन्त्री हुनुपर्ने स्थापितको दावी छ ।

तपाईंको प्रतिकृया
Loading...