एक मत दिन डेढ घण्टा पैदल !

loading...

काठमाडौँ, मंसिर २१ । पहाडी तथा दुर्गम क्षेत्रमा घण्टौँ हिँडेर मतदान गर्न जाने गरेको विषय सहज लागे पनि राजधानी काठमाडौँमै डेढ घण्टा हिँडेर मतदान केन्द्रसम्म मतदाता पुगेको भन्ने सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ ।

यो आश्चर्य होइन, यथार्थ हो । भक्तपुरको लोकन्थली घर भएकी अंशु ढुंगेल डेढ घण्टा हिँडेर काठमाडौँको मध्य भाग पुरानो बानेश्वरस्थित रत्नराज्य उच्च माध्यामिक विद्यालय आएर मतदान गर्नुभयो ।

पुरानो बानेश्वरमा रहेको रत्नराज्य माध्यामिक विद्यालयमा आफ्नो मतदाता नामावली भएपछि उहाँ भक्तपुरबाट पैदल हिँडेर त्यस ठाँउमा आएर मतदान गर्नुभएको हो ।

यस्तै कोटेश्वर महादेवस्थानबाट मतदानका लागि एक घण्टा हिँडेर आउनु भएका ६३ वर्षीय सञ्जय भट्टराई लामो दूरी हिँडेर मताधिकार प्रयोग गर्न आएको बताउनुहुन्छ । मतदानपछि भट्टराई पार्टी भन्दा पनि असल र विकासप्रेमी नेतालाई मतदान गरेको बताउनुहुन्छ । “जनताको सुःख दुःखमा भिजेको तथा आफ्नो ठाँउको विकास गर्ने नेतालाई मतदान गरेको छु,”– उहाँ भन्नुहुन्छ ।

यसै गरी बानेश्वरबाट मतदानका लागि आउनु भएका पञ्चनारायण महर्जन निर्वाचनमा मत प्रयोग गर्न पाएकोमा मख्ख हुनुहुन्थ्यो । “निर्वाचनपछि मुलुकमा केही परिवर्तन हुन्छ भन्ने लागेको छ,”– उहाँले भन्नुभयो ।

निर्वाचनको दिनमा सरकारले निजी तथा सार्वजनिक सवारी साधन चलाउन रोक लगाएपछि टाढाटाढाबाट मतदाताहरु आफ्नो मताधिकार प्रयोग गर्न मतदानस्थलसम्म पुगेका छन् ।

तपाईंको प्रतिकृया
Loading...