५ बज्नासाथ ३२ जिल्लामा मतगणना हुने

मनाङको परिणाम भोलि बिहानसम्म आइसक्ने

loading...

काठमाडौँ, मंसिर २१ । पहिलो चरणमा मतदान भएका ३२ जिल्लामा आज बेलुका पाँच बजेबाट मतगणना सुरु हुँदैछ ।

ती जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार सर्वदलीय सहमति भइसकेको र पाँच बजेभन्दा अगाडि सबै औपचारिकता पूरा गरेर पाँच बज्नासाथ मतगणना सुरु हुनेछ ।

बुधबार सर्वदलीय बैठक गरी सहमति गरेर प्रक्रिया पूरा भएको र आज पाँच बज्ने बित्तिकै मतपत्र रहेको बाकस खोल्ने तयारीमा रहेको मनाङका मुख्य निर्वाचन अधिकृत दीपक ढकालले जानकारी दिए ।

४३२१ मत खसेको मनाङमा तीन ठाउँबाट मतगणना सुरु गर्ने व्यवस्था मिलाइएको र भोलि बिहानसम्म प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक गरिसक्ने लक्ष्य रहेको उनले बताए ।

मंसिर १० गते मतदान भएको डोल्पामा पनि मतगणनास्थल निर्माण लगायतका सबै तयारी भइसकेको र उम्मेदवार र तिनका प्रतिनिधि बोलाएर चार बजे भित्र मुचुल्का उठाएर पाँच बज्नेबित्तिकै मतगणना सुरु गर्ने तयारी भइरहेका मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले जानकारी दिए ।

‘अहिले उम्मेदवार र तिनका प्रतिनिधिहरुलाई परिचयपत्र वितरण भइरहेको छ,’ संखुवासभाका निर्वाचन अधिकृत प्रकाश राउतले भने, ‘सबै दलका प्रतिनिधि कति बेला पाँच बज्छ भनेर कुरेर बस्नुभएको छ ।’

अधिकांश जिल्लामा मतगणनास्थललाई तारजालीले घेरिएको छ ।

आज बाँकी ४५ जिल्लामा मतदान भइरहेको छ ।

तपाईंको प्रतिकृया
Loading...