ललितपुरमा निर्वाचन तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आग्रह

loading...

ललितपुर, मंसिर २० । ३ निर्वाचन क्षेत्र रहेको ललितपुर जिल्लामा निर्वाचनको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । २ लाख ३९ हजार मतदाता रहेको ललितपुर जिल्लामा प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी पूरा भएको र मतदान अधिकृतहरू सम्बन्धित मतदानस्थलमा पुगिसकेको मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले जानकारी दिए ।
१३१ मतदान स्थल र २७७ मतदान केन्द्र रहेको ललितपुरमा एउटा मतदान केन्द्रमा आठजना कर्मचारी खटाइएको दवाडीको भनाइ छ ।

मतदान स्थलको सुरक्षाका लागि आवश्यकताअनुरूप सुरक्षाकर्मी खटाइएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए । उनका अनुसार ललितपुर जिल्लामा सुरक्षाका हिसाबले कुनै समस्या छैन ।

“केन्द्रीय सुरक्षा योजनाअनुसार सुरक्षाकर्मी खटाएका छौँ,” उनले भने । उनले मतदातालाई निर्भय भएर मतदानमा सहभागी हुन अनुरोधसमेत गरे ।
मुख्य निर्वाचन अधिकृत दवाडीका अनुसार ललितपुर जिल्लाको मतगणना दुई ठाउँबाट हुँदैछ । र, मतगणनास्थलको सुरक्षामा विशेष ध्यान पुर्याइएको उनको दाबी छ ।

निर्वाचन क्षेत्र नम्बर १ र २ को स्टाफ कलेज जाउलाखेलमा मतगणना हुनेछ भने ३ नम्बर निर्वाचन क्षेत्रको भने स्थानीय तह प्रशिक्षण केन्द्र जाउलाखेलमा हुने उनको भनाइ छ । सबै मतदान केन्द्रको मतपेटिका संकलन भइसकेपछि गणना सुरू गरिने उनले जानकारी दिए ।

तपाईंको प्रतिकृया
Loading...