ललितपुरले ट्यालेन्ट हण्टबाट कति खेलाडी छान्यो ?

loading...

ललितपुर, मंसिर १८ । ललितपुर पेट्रियट्सले ट्यालेन्ट हण्टबाट ४ जना खेलाडी छनोट गरेको छ । काठमाडौंमा सोमबार (आज) पत्रकार सम्मेलन गर्दै ललितपुरले आसन्न एभरेष्ट प्रिमियर लिग (इपिएल) को लागि ट्यालेन्ट हण्टबाट छनोट भएका ४ जना खेलाडीको नाम सार्वजिनक गरेको हो ।

ट्यालेन्ट हण्टबाट छनोट हुने खेलाडीमा लेफ्ट आर्म मिडियम पेस बलर प्रतिश जिसी, राइट आर्म मिडियम पेस बलर तथा राइट ह्यान्डेट ब्याट्सम्यान सुमित झा रहेका छन् । त्यस्तै, स्पिनर विपिन आचार्य र राइट ह्यान्डेट ब्याट्सम्यान तथा विकेटकिपर रित गौतम पनि छानिएका छन् ।

ललितपुरले दुई चरणमा खेलाडीको छनोट गरी चार जनाको नाम सार्वजनिक गरेको हो । ललितपुरले कात्तिक २४ र २८ गते ट्यालेन्ट हण्ट गरी १०५ जना खेलाडीबाट ३१ जना खेलाडी छनोट गरेको थियो । उतृकष्ट ३१ लाई दोस्रो चरणको अभ्यासपछि चार जना खेलाडी छनोट गरेको हो ।

छनोट भएका चार जना खेलाडीले मंसिर २६ गतेदेखि टिमका अन्य खेलाडीसँग क्याम्पमा सहभागिता जनाउनेछन् । छनोट भएका यी चार जना खेलाडीमध्ये उत्कृष्ट एकले इपिएल खेल्ने ललितपुर पेट्रियट्सले जनाएको छ ।

ललितपुर पेट्रियट्सका प्रशिक्षक राजु बस्न्यातले नेपाली क्रिकेटलाई केही योगदान पुर्याउने उद्देश्यले इपिएलले १ जना भने पनि आफूहरूले ४ जना खेलाडी छनोट गरेको बताए ।

यता, ललितपुर पेट्रियट्सका मालिक किशोर महर्जनले नयाँ खेलाडीलाई मौका दिने हेतुले ट्यालेन्ट हन्ट गरी खेलाडी छनोट गरेको बताए । उनले छनोट भएका प्रत्येक खेलाडीले २५ हजार रुपैयाँ र क्याम्पमा अन्य खेलाडीले सरह सेवा सुविधा पाउने बताए ।
इपिएल पुस ३ गतेदेखि टियु मैदानमा सुरु हुँदैछ ।

लिगमा ६ वटा क्लबले प्रतिस्पर्धा गर्दैछन् । लिगमा काठमाडौं किङ्स इलाभेन, ललितपुर पेट्रियट्स, चितवन टाइगर, विराटनगर वारिवर्स, पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्स रहेका छन् ।

इपिएल क्रिकेट राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुनेछ । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । पहिलो प्लेअफमा विजेता हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ  । इपिएलको विजेताले २१ लाख प्राप्त गर्नेछन् ।

तपाईंको प्रतिकृया
Loading...