चलायमान मतदातामा विवेकशील साझाको नजर

loading...

काठमाडौँ, मंसिर १८ । पहिले सामाजिक सञ्जालमा मात्रै चर्चा कमाइरहेको भनी आलोचना हुँदै आएको विवेकशील साझा पार्टीले काठमाडौंका चलायमान मतदातामा आफ्नो प्रभाव देखाउन थालेको छ ।

चुनाव नजिकिँदै गर्दा सामाजिक सञ्जालमै काठमाडौंका केही क्षेत्रमा विवेकशील साझाको उपस्थितिलाई उल्लेख्य रूपमा लिन थालिएको छ । मतदाता कहाँ घरदैलोका क्रममा पाएको प्रतिक्रियाले यो नवगठित पार्टीका प्रत्याशी उत्साही देखिएका छन् । उनीहरूको भनाईमा, कुन पार्टीलाई भोट दिने भनी निश्चय नगरेका मतदाता रिझाउने प्रयासमा उम्मेदवार छन् । अनि ‘पुराना दलसँग विकर्षित’ लाई पनि चुनावी सफलताको आधार मानिरहेका छन् ।

काठमाडौं-५ मा मात्रै अहिलेसम्म आफू लगभग ४ सय किमि हिँडिसकेको बताउँछन् विवेकशील साझा पार्टीका संयोजक उज्ज्वल थापा । हरेक समय आफूहरू मतदातासँग सम्पर्कमै रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘पुराना दलप्रति जनताको वितृष्णा बढ्दो छ । त्यसको सट्टामा हामीलाई रोजेका छन् ।’ काठमाडौंका जनता कुनै खास पार्टीमा कटिबद्ध भएर नलागेको उनको बुझाइ छ । यसो हुँदा आफूहरूले राम्रो मुद्दा उठाइ रहेकाले गतिशील स्वतन्त्र जनताले आफूहरूलाई सहयोग गर्ने उनले बताए ।

सहरका मतदाताबीच चुनावी माहोल हेरेर विवेकशील साझाको फेसबुक, ट्विटर र युट्युबमा मात्रै नभई ‘ग्राउन्ड’ मै पनि राम्रो माहोल छ कि भनेर अनुमान लगाउनेहरू बढ्न थालेका छन् । लोकतान्त्रिक र वाम गठबन्धनका नेतालार्ई चुनौती दिनेगरी उनीहरूले वैकल्पिक राजनीतिका पक्षमा आक्रामक प्रचार गरे । साना दलका यी उम्मेदवार भोट काट्न मात्र होइन, ठूला दलको वर्षौंदेखिको प्रभुत्वलाई हटाउन तम्सिरहेका देखिन्छन् । हरेक दिन उनीहरू मतदातासम्म पुगेर भोट मागिरहेका छन् ।

विवेकशील साझा सामाजिक सञ्जालमा मात्र सीमित नरहेको कुरा महानगरपालिकाको मेयर पदको निर्वाचनमा रञ्जु दर्शनाले ल्याएको मतले पनि पुष्टि गरिदियो । दर्शनाले त्यतिबेला धेरैको अनुमान विपरीत २१ हजार मत बटुलेकी थिइन् । सामाजिक सञ्जालमा मात्र हाइहाइ भएको र दर्शनाको पाँच सय मत पनि नकट्ने धेरैको आँकलन थियो । परिणाम उल्टो आयो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विवेकशील साझाका परिणाम पनि नसोचेको आउने हो कि भन्ने मतदाताको अनुमान छ । यो अनुमान सामाजिक सञ्जालमै पनि देखिन्छ । यो बीचमा दुई पार्टीको एकतासमेत भइसकेको छ ।

विवेकशील साझाकै उम्मेदवारले सामाजिक सञ्जालमा गरेको पोस्ट होस् वा विभिन्न ठाउँमा गएर उनीहरूले गरेको भाषण सुन्दा उनीहरूको पक्षमा राम्रै उपस्थिति देखिन्छ । आफूहरूलाई युवाको विशेष साथ रहेको बताउँछन् विवेकशील साझाकै अर्का उम्मेदवार मिलन पाण्डे । काठमाडौंमा उनीहरूलाई सहयोग गर्नेहरू धेरै देखिन्छन् । काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्र मि श्र, क्षेत्र नम्बर ५ का उज्ज्वल थापा, क्षेत्र नम्बर ९ का मिलन पाण्डे हुन् या सुबुना बस्नेत, सूर्यराज आचार्य, सबैले निर्वाचन आफ्नो पक्षमा आउने बताइरहेका छन् ।

पाण्डे भन्छन्, ‘हामीलाई मतदाताले माया गरिदिनुभएको छ । यो पटकको निर्वाचनमा नसोचेको परिणाम आउँछ ।’ वर्षौंदेखि नेपाली राजनीति हाँक्दै आएका नेताले भन्दा आफूहरूले जनतामा प्रत्यक्ष सरोकार राख्ने मुद्दा उठाएको बताउँछन् उनी । अन्य दलका नेताको घरमा पुग्दा पनि आफूहरूले सकारात्मक प्रतिक्रिया पाएको उनको भनाइ छ ।
विवेकशीलले भनेजसो चुनाव उनीहरूको पक्षमा पर्ने देख्दैनन् एमाले उम्मेदवार राजन भट्टराई । अरूलाई ओलोचना गरेर मात्र चुनाव नजितिने उनले बताए । ‘विवेकशील नयाँ पार्टी हो र जनताले उसलाई धेरै विश्वास गरेका छैनन्,’ उनले भने, ‘पुरानो पार्टीप्रति असन्तुष्ट मतलाई उहाँहरूले समात्न खोज्नुभएको छ । चुनाव जित्न सैद्धान्तिक धार पनि हुनुपर्छ ।’

कांग्रेस होस् या एमाले अथवा माओवादी सबैले युद्धको इतिहास बोकेर आएका छन् । ‘जेलनेल नसहेको पनि कोही नेता हुन सक्छ’ भन्ने किसिमको सोचाइ नेपाली समाजमा चलेकै हो । एउटा पार्टी स्थापित हुन लामो समय लाग्छ भनेर त हामीले कांग्रेस, एमालेलाई हेर्दा पनि थाहा हुन्छ । विवेकशील साझाले पार्टी निर्माणको छोटो अवधिमै धेरै मतदाताको ध्यान खिचेको अनुमान लगाउन सकिन्छ ।

कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह र विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मि श्रको चुनावी प्रतिस्पर्धालाई जिज्ञासाको नजरले हेर्न थालिएको छ । ‘हाम्रो आँखामा हेर्छन् मतदाता र कुरा गर्छन्’, विवेकशील साझाको लोकप्रियता बढ्नुको कारणलाई पाण्डेले प्रस्ट्याए, ‘मतदाताले नीति हैन नियत हेरेका छन् । हाम्रो नियत सही छ ।’
आफूहरूले जनतालाई कुनै ठूलो आश्वासन नदिएको बरु हाम्रो क्षमतालाई हेरिदिन मात्रै आग्रह गरेको बताउँछन्, पाण्डे । आफूहरूले सोचेभन्दा धेरै मान्छे आफ्नो पक्षमा उभिएको उनले बताए । चुनावी परिणामलाई नै फेरबदल गर्ने हिसाबले काठमाडौंमा साना दलले भूमिका खेल्न नसक्ने बताउँछन् एमाले नेता प्रदीप ज्ञवाली ।

सामाजिक सञ्जालमा मात्र उनीहरूको प्रचारप्रसार धेरै रहेको उनले बताए । ‘अहिले केही मान्छे नयाँ पार्टीतिर ढल्केका छन् त्यो सत्य हो,’ उनले भने, ‘नयाँ पार्टीको आकर्षणले होइन बरु अर्को पार्टीको उम्मेदवार मन नपरेर हो । यस्तो प्रकृति टिकाउ हुँदैन ।’ काठमाडौंमा पनि वामपन्थीले राम्रो मत ल्याएर जित्ने उनको भनाइ छ । आजको अन्नपूर्णमा खबर छ ।

तपाईंको प्रतिकृया
Loading...