आज योमरि पुन्हि तथा १४ औं ज्यापु दिवस

loading...

काठमाडौं । मल्लकालभन्दा अघिदेखि काठमाडौँ उपत्यकाभित्र र बाहिरसमेत नेवारी समुदायको पहिचान बनेको ज्यापू संस्कृतिमा आधुनिकताको प्रभावले परिवर्तन आएपनि मौलिक संस्कृति संरक्षणको मुद्दा सेलाएको छैन ।

बढ्दो शहरीकरण र कृषिमा आधुनिकीकरणका बीच परम्परागत ज्यापू संस्कृतिको जगेर्नामा यस क्षेत्रका प्रबुद्ध व्यक्तिहरु निरन्तर लागिरहेका छन् । नेपाल भाषामा ‘ज्या’ भनेको काम र ‘पू’ भनेको बीउ हो । निरन्तर खेती किसानीमा संलग्न हुने मेहनती र पौरखको रीत र परम्परा नै ज्यापू संस्कृति हो । कतिपयले पूलाई फू (गर्न सक्ने) पनि मान्छन् ।

कृषि प्रधान मुलुक नेपालमा शहरी क्षेत्रमा अन्नबाली लगाउने खेतहरु क्रमशः मासिन थालेपछि खेतीपाती गर्ने ठाउँकै अभाव हुन थालिसकेको छ भने संस्कृतिमा आएको बाह्य प्रभावका कारण मौलिक संस्कृति संकटमा पर्दै आएको छ ।

नेपाली पारम्परीक चाडबाड तथा संस्कृतिका विशेष क्षणहरूमा विविध साङ्गीतिक अभ्यासहरूले पनि अाफ्नो बेग्लै स्थान बनाएको छ । शायदै त्यस्ता कुनै चाडबाड होलान जसमा विशेष खाले गीत सङ्गीतले ठाउँ नपाएको होस् । योमरि पुन्हिका दिन पनि यससंग सम्बन्धित विशेष नेपाल भाषामा गाइने एउटा विशेष गीत छः

य:मरि च्वामु, उकिइ दुने हामु,
बिउम्ह ल्यासे, मबिउम्ह बुरिकुति
त्य: छिं त्य:, बकछिं त्य:
लातापाता कुलिचां जुसें त्य:….

योमरी पुन्हीका रुपमा स्थापित धान्य पूर्णिमा नेवारी समुदायको एक प्रमुख चाड हो । यस अवसरमा ज्यापू महागुठीले विभिन्न उत्सव, गुठी तथा पूजाआजा गर्ने परम्परा छ । उत्सवमा धानको कोठी, भकारी राखी पूजा गरेर योमरी सहित चामलको पिठोको विभिन्न देवी देवता धान खेतमा हुने चरा मुसा आदी वनाएर चढाउने अनि ४ दिनसम्म छोपेर राख्ने र त्यसलाई ४ दिनपछि प्रसादका रुपमा खाने/ख्वाउने चलन छ । नयाँ चामलको पिठोभित्र चाकु र तिल हालेर योमरी बनाइन्छ । यो बौद्ध चैत्य दर्शनमा पनि आधारित छ । खेतमा काम गर्दा वा चाड पर्वमा निस्कँदा नेवारी पुरुषहरुले दौरा सुरुवाल, कालो भादगाउँले टोपी र सेतो पटुका तथा महिलाहरुले हाकु पटासि (कालो फरिया, कालो चौबन्दी र सेतो पछ्यौरी) लगाएर चिटिक्क परेर हिँड्ने ज्यापू संस्कृति अहिले क्रमशः लोप हुन थालेकोछ । खेतमा जाने किसानले काँधमा खर्पन, हातमा औजार र मल बीउ बोकेको ज्यापू संस्कृतिको पहिचान पनि मुख्य शहरबाट विस्तारै लोप हुन थालेको छ ।

आज मनाइने १४ औँ राष्ट्रिय ज्यापू दिवसमा दबूः दाफाखलःको आयोजनामा टेकूबाट भित्री शहर हुँदै वसन्तपुरसम्म धिमेबाजा र बाँसुरी बजाउँदै सांस्कृतिक ¥यालीसहित सभा गर्ने कार्यक्रम छ । ज्यापू संस्कृति विकास कोष र कुशेश्वर क्षेत्र सम्पदा संरक्षण प्रतिष्ठानले कार्यक्रमको प्रमुख अतिथिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई यही मंसिर १० गते परम्परागत निमन्त्रणा (ग्वय्दां तयेगु) गरिसकेका छन् । परम्परागत निमन्त्रणामा किसली (माटाको पालामा चामल, सुपारी र चाँदीको सिक्का तथा नयाँ लुगा) उपहार दिइन्छ ।

विसं २०६१ मा तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यसलाई राष्ट्रिय दिवसको मान्यता दिएको हो । हाल मुलुकभर भर ज्यापू समुदायका करिव ६ लाख नागरिक छन् । संस्कृति संरक्षणका लागि वसन्तपुरमा ज्यापू संग्रहालय बनाउने योजना पनि अघि बढेको छ ।

तपाईंको प्रतिकृया
Loading...