विशेषज्ञ चिकित्सकको सम्मेलन हुँदै

loading...

काठमाडौँ, मंसिर ६ । जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन विशेषज्ञ चिकित्सकको दक्षिण एशियाली क्षेत्रीय सम्मेलन यही मंसिर ९ र १० गते काठमाडौँमा हुने भएको छ ।जनरल प्राक्टिसनर एसोसिएसन अफ नेपाल (जिपान) को संयोजनमा हुने दुई दिने उक्त सम्मेलनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) देशका करिब चारसय चिकित्सक सहभागी हुने छन् ।

नेपालमा सात वर्षपछि हुन लागेको यो सम्मेलनमा सहभागी देशले विशेष गरी जनरल तथा इमरजेन्सी चिकित्सा क्षेत्रमा गरेका उपचार विधि तथा ज्ञानका बारेमा कार्यपत्र प्रस्तुत गर्ने जिपानका अध्यक्ष प्रा.डा भरत यादवले जानकारी दिनुभयो ।

जनरल प्राक्टिस र इमरजेन्सी मेडिसिनमा स्नातकोत्तर गरेका चिकित्सकले सन् १९९० मा यो संस्था स्थापना गरेका थिए । त्रिविवि चिकित्सा अध्ययन संस्थान महाराजगञ्जले सन् १९८२ देखि पोस्ट ग्राजुएट तहमा एमडिजिपी विषयमा अध्यापन शुरु गरेको थियो ।

जिपानका महासचिव एवं सम्मेलन आयोजक समितिका संयोजक प्रा.डा सञ्जीव तिवारीले समग्र स्वास्थ्य क्षेत्र सुधारका लागि जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन चिकित्सकको भूमिका अहम् हुने जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृया
Loading...