इपिएल क्रिकेट टोलीको ललितपुर प्याट्रिएटर्स र वाटर एडसँग सहकार्य

loading...

काठमाडौँ, मंसिर ४ । एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको दौरान सामाजिक अभियानको लागि ललितपुर प्याट्रिएटर्सले वाटर एड नामक गैरसरकारी संस्थासँग सहकार्य गर्ने भएका छन् ।

इपिएल क्रिकेट प्रतियोगिताको टोली ललितपुरले सोमबार पत्रकार सम्मेलन आयोजना गरेर वाटर एडसँग सामाजिक कार्यको लागि सहकार्य गर्ने जानकारी दिएको हो ।

विभिन्न ६ सहर सहभागी इपिएल क्रिकेट आगामी पुस ४ गतेबाट कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुनेछ । उक्त प्रतियोगिताको दौरान सबै क्लबले सामाजिक कार्यको लागि केही अभियान सञ्चालन गर्नै पर्ने नियमअनुसार  ललितपुर प्याट्रिएटर्सले वाटर एडसँग सहकार्य गरेको हो । वाटर एडसँगको सहकार्यसँगै अब प्रतियोगिता दौरान ललितपुरले महिलाहरुको महिनावारी सम्बन्धी पिरियड पावर नामक अभियान सञ्चालन गर्नेछ ।

ललितपुरसँगको सम्झौतासँगै वाटर एडले क्रिकेट र खेलाडीमार्फत पिरियड पावर नामक अभियान सञ्चालन गर्नेछ । यो अभियानले जनमानसमा रहँदै आएको रजस्वला, रजस्वलाबारेको अन्धविश्वास र आवश्यक सावधानीको अभावमा निम्तन सक्ने खतराको विषयमा जनचेतना फैलाउने छ ।

सम्झौतापछि ललितपुर प्याट्रिएटर्सका अध्यक्ष किशोर महर्जनले महिनावारीबारे गाउँदेखि सहरमा समेत विभिन्न विभेदहरु रहेका कारण यो अन्धविश्वासबारे जनचेतना फैलाउनु आवश्यक रहेको कारण वाटर एडसँग सहकार्य गरेको बताए ।

यस्तै वाटर एडकी कन्ट्रि डारेक्टर तृप्ती राईले यो अभियानको लागि ललितपुर र क्रिकेट खेलसँगको सहकार्यले महिलाहरुमा हुने रजस्वला सम्बन्धि रहँदै आएको गलत धारणाले उनीहरुको स्वास्थ्य तथा शिक्षामा पर्न गएको समस्याहरुको समाधानमा टेवा पुग्ने बताइन् । नेपालमा खानेपानी, स्वच्छता र सरसफाइबारे अभियान चलाउँदै आएको वाटर एडले पछिल्लो समय महिलाको रजस्वलासम्बन्धि अभियान सञ्चालन गर्दै आएको छ ।

तपाईंको प्रतिकृया
Loading...