गुणीय चक्रको १३ औँ राष्ट्रिय अधिवेशन शुरू

loading...

जनकपुरधाम, कार्तिक ३० । विद्यार्थीको व्यक्तित्व विकासका लागि शिक्षामा गुणीय चक्रको १३ औँ राष्ट्रिय अधिवेशन आजदेखि जनकपुरमा शुरू भयो ।

क्वेष्ट नेपालद्वारा मोनाष्टिक आवासीय माध्यमिक विद्यालयमा आयोजित सो अधिवेशनमा काठमाडौँ, भक्तपुर, ललितपुर, कीर्तिपुर, बुटबल, बारा, रूपन्देही, पाल्पा, धनगढी, सुर्खेत, चितवन, काभ्रे, जनकपुर लगायत ७० विद्यालयका ७०० विद्यार्थी र २०० पर्यवेक्षक (शिक्षक, शिक्षिका, प्रधानाध्यापक तथा शिक्षविद्) को सहभागिता रहेको छ ।

शिक्षामा गुणीय चक्र अवधारणा विद्यार्थीलाई सर्वगुण सम्पन्न व्यक्ति बनाउने शैक्षिक अभियान हो र यो सन् २००५ देखि देशका विभिन्न शैक्षिक संस्थामा एक नवीनतम् शैक्षिक आन्दोलनका रूपमा लागू भइरहेको छ । हाल १०० भन्दा बढी विद्यालयमा सहपाठयक्रम तथा पाठ्यक्रमका रूपमा शिक्षमा गुणीय चक्रको पठनपाठन भइरहेको जनाइएको छ ।

सो अवधारणा सन् १९६२ देखि जापानको उद्योगमा वस्तु तथा सेवाको गुणस्तर अभिवृद्धि गर्न लागू गरिएको गुणीय चक्रबाट लिइएको हो । यो अवधारणा विश्वका २५ भन्दा बढी देशमा निकै लोकप्रिय रहेको बताइएको छ ।

अधिवेशनमा देशभरिका २२ हवबाट छानिएका विद्यार्थीले गुणीय चक्रको प्रतिवेदन, समस्याको पहिचान, विश्लेषण र यसबाट प्राप्त उपलब्धिलाई प्रस्तुत गर्ने जनाइएको छ ।

जनकपुर उपमहानगरपालिकाका प्रमुख लाललकिशोर साहले अधिवेशनको उद्घाटन गर्दै जनकपुरधाममा शैक्षिक विकास सन्दर्भमा चिकित्सा शास्त्रको शैक्षिक प्रतिष्ठान स्थापनामा सबैको अग्रसरता माथि जोड दिनुभयो ।

क्वेष्ट नेपालका अध्यक्ष निराजन अधिकारीको सभापतित्वमा भएको सो समारोहमा धनुषा जिल्ला शिक्षा अधिकारी हेमबहादुर खड्का, मोनाष्टिक आवासीय जिद्यालयका निर्देशक डा सानु कुमारले गुणीय चक्रको उपादेयता बारे बोल्नु भएको थियो । अधिवेशन मङ्सिर २ गतेसम्म चल्ने छ । रासस

तपाईंको प्रतिकृया
Loading...