अमर्यादित होस्टल रोक्न आकस्मिक अनुगमन

loading...

काठमाडौँ । नेपाल होस्टेल एसोसियसन केन्द्रिय कार्यालय, नेपाल होस्टेल एसोसियसन ललितपुर र नेपाल होस्टेल एसोसियसन काठमाडौँको संयुक्त टोलीले राजधानीमा संचालित दर्जनौं होस्टेलहरुको आकस्मिक अनुगमन गरेको छ ।

केन्द्रिय अनुगमन समितिका संयोजक भीम भण्डारी प्रहरी प्रशासनको सहयोगमा अनुगमन गर्दै । तस्वीर : अनलाइन पत्रिका

होस्टल व्यवसायलाई अमर्यादित र अव्यवस्थित तवरले संचालन गरिरहेको उजुरी बढेपछि होस्टल व्यवसायीहरुको नेतृत्व टोलीले छड्के अनुगमन बढाएको केन्द्रिय अध्यक्ष चेतन दाहालले बताउनुभयो । केन्द्रिय अध्यक्ष दाहालका अनुसार अमर्यादित रुपमा संचालित होस्टलहरुको उजुरी बढेपछि अनुगमनलाई तीब्र पारिएको हो ।

केन्द्रिय अनुगमन समितिका संयोजक भीम भण्डारीले व्यक्तिगत स्वार्थमा सिंगो होस्टल व्यवसाय र व्यवसायीलाई दाग लगाउनेलाई कुनैपनि हालतमा नछाडिने बताउनुभयो । अनलाइन पत्रिकासँग कुरा गर्दै संयोजक भण्डारीले भन्नुभयो, ‘हामीले प्रमाणसहित त्यस्ता होस्टललाई निस्क्रिय बनाएर छाड्छौं ।’

टोलीले गरेको आकस्मिक अनुगमनको क्रममा केही होस्टेलहरु अमर्यादित भेटिएको र धेरैलाई चेतावनीसहित मर्यादित हुन सुझाव दिइएको बताइएको छ । शान्तिनगरमा संचालित एक होस्टलले नियम उल्लङघन गरेर संचालन गरेको प्रमाणसहित भेटिएपछि प्रहरी प्रशासनको सहकार्यमा सम्बन्धित संचालकलाई कारवाहीका लागि आग्रह गरिएको हो ।

यसै क्रममा नेपाल होस्टेल एसोसियसन ललितपुरका अध्यक्ष सुनिता बाटाजुका अनुसार च्याउसरि खुलेका होस्टेलहरुले नियमलाई धज्जी उडाउने काम अब जारी नरहने बताउनुभयो । ललितपुरमै पनि जिल्ला प्रशासन, महानगरपालिका र प्रहरी प्रशासनसँगको समन्वयले गैरकानुनी र अमर्यादित संचालित होस्टललाई कानुनी दायरामा ल्याएर कारवाही गरिने तयारी भइरहेको जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृया
Loading...