‘डन’ गणेश लामाको निर्भिक बयान

loading...

नाम होस् या बदनाम मिडिया जगतले ‘डन वा गुण्डा नाइके’ भनेर सम्बोधन गर्छ । समाजले प्रयोग गरिरहेको यो शब्दले गणेश लामालाई विचलित बनाउँछ । काभ्रे क्षेत्र नम्बर १ प्रदेश ‘ख’ बाट आगामी प्रदेश सभा सदस्यका लागि नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका लामाबारे विभिन्न टिक्का टिप्पणी समेत हुने गरेको छ । गणेश लामा को हुन् ? उनी किन राजनीतिमा आए ? काभ्रेको मध्यम वर्गिय तामाङ परिवारमा जन्मेका गणेश लामा आफैलाई भने नेताको रुपमा परिभाषित गर्छन् ।
म ठूलो घरानाको होइन तर, खाना पुग्ने परिवारमा जन्मेको हुँ । काभ्रेको तत्कालिन खहरे पालुङ गाविस हाल रोसी गाउँपालिका वडा नम्बर १ जहाँ दलित समुदायको बाहुल्यता छ । परियार र विकहरुको ठूलो बस्तिमा २०३५ साल कार्तिक १३ गते म जन्में । पिता बालसंङ तामाङ राजनीति गर्नुहुन्छ । २३ सालदेखि ३६ सालसम्म चलेको पञ्चायत विरोधी भूमिगत संघर्षमा सामेल हुनुभयो । ३६ सालको जनमत संग्रहपछि कांग्रेस छाडेर पञ्चायतलाई समर्थन गर्नु भयो । दुई पटकसम्म प्रधानपञ्च र जिल्लाको उपसभापति हुँदै ४६ सालमा भएको जनआन्दोलन पश्चात फेरी राप्रपामा प्रवेश गर्नुभयो । अहिले कांग्रेसलाई सघाउँदै हुनुहुन्छ ।

मेरो पिताको रञ्जु थापा क्षेत्रीसँग अन्तरजातिय विवाह भयो । मेरो सौभाग्य भनुँ या अवसर मैले बाल्यकालदेखि नै काठमाडौंमा अध्ययन गर्न पाएँ । २०३६ सालमै मेरो बुवाले काठमाडौंको भिमसेन गोलामा घर बनाइसक्नु भएको थियो । काभ्रेमा जन्में तर काठमाडौंमा हुर्कें ।

बाल्यकालमा फूटबल प्रेमी थिएँ । खेलाडी बन्ने सपना थियो । किपर बस्ने गर्थें । म निकै सालिन धेरै नबोल्ने ‘कुल’ मान्छे थिएँ । मैले काठमाडौंको कमल नेत्र स्कुलबाट प्रावि तह पास गरेँ र एसएलसी भने कमल आदर्शबाट सेकेन्ड डिभिजनमा पास गरेँ । त्यसपछि म पशुपतिमा आइए पढ्न भर्ना भएँ र, म राजनीतिमा पनि जोडिएँ । जतिबेला माओवादी युद्ध चर्किदै थियो । काभ्रेमा रहेको मेरो पुर्खौली घरमा आमा बस्नुहुन्थ्यो । माओवादीहरुले मेरो घर कब्जामा लिए । आमा काठमाडौंमा विस्थापित हुनुभयो ।

बाबु र आमा दुवैको एउटा इच्छा थियो–‘छोरो म भन्दा धेरैमाथि पुगोस् । डाक्टर, इन्जिनियर र पाइलट नै बनोस् ।’ काठमाडौंमा अध्ययनकै शिलशिलामा म राजनीतिसँग जोडिसकेको थिएँ ।

राजधानीका क्याम्पसहरुमा अत्याधिक राजनीतिक गतिविधि हुन्थे । पशुपति क्याम्पस अछूतो थिएन । नेपाली कांग्रेस दुई भागमा विभाजित थियो– गिरिजा प्रसाद कोइराला नेतृत्वको नेपाली कांग्रेस र शेरबहादुर देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेस । हामीले प्रजातान्त्रिक कांग्रेसलाई समर्थन ग¥यौँ ।

स्ववियु चुनाव आएपछि विद्यार्थी संगठनबीच ‘झैझगडा’ हुन्थे । ठूलो झगडाको शुरुवात त्रिचन्द्र क्याम्पसबाट भयो । ५७÷५८ सालमा स्ववियु चुनावको समय थियो । हामी पार्टीका साथीहरुलाई सहयोग गर्न त्रिचन्द्र क्याम्पस गयौँ । त्यहाँ परिस्थीति अर्कै बनेको रहेछ । कांग्रेस संस्थापन पक्ष र एमाले निकट अखिलबीच गठबन्धन थियो । तर, हाम्रो प्रजातान्त्रिक विद्यार्थी संगठन बलियो थियो । उनीहरु मिलेर हामीमाथि आक्रमण गरे । हामी निशस्त्र थियौँ उनीहरुसँग हातहतियार थियो त्यसैले घाइते भयौँ । म चाहान्थेँ,‘विचार बोकेको आधारमा कसैमाथि आक्रमण नहोस् ।’ तर, परिस्थिति त्यस्तो थिएन । प्रजातान्त्रिक कांग्रेस भएकै कारण साथीहरु कुटिएका थिए । मेरो पनि युवा जोस थियो । मेरा भावनाहरु थिए र साथीहरुमाथि अन्याय हुँदा सहन नसक्ने स्वभाव थियो । झैझडाहरु हुन्थे मैले साथीहरुलाई सहयोग गरेँ ।

यस्तो स्थितीमा मेरने पढनई अगाडी बढेन । करिब एक वर्ष काठमाडौंको सोल्टी होटलमा सुपरभाइजरमा जागिर खाएँ । त्यहाँ म्यानेजमेन्टबारे सिकेँ । त्यसपछि पुर्खौली सम्पत्ति लगानी गरेर व्यावसायमा हात हालेँ । ठमेलमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएँ । आफू पनि त्यहाँ इन्गेज भएँ ।

१५ वर्षअघि तामाङकै छोरीसँग मागि विवाह गरेँ । व्यापारबाटै हामीले परिवार धानीरहेका थियौँ । तर, कोही आएर धम्काउँथे फ्रिमा खान खाज्थे । कसैले दबाउन खोज्थे । मैले सहेर बसिनँ, प्रतिकार गरेँ ।

त्यो पनि झैझगडाका कारणहरु थिए । १६ वर्षको उमेरदेखि २५ वर्षसम्म आक्रोशीत हुनु युवाहरुको स्वभाव होे । मैले कसैलाई पिटेँ भने उसलाई दुख्छ । मलाई कसैले पिटे मलाई पनि दुख्छ । देशमा कानुन छ । कानुन भन्दामाथि कोही पनि छैन । केही झूटा मुद्दा लगाएर ममाथि षडयन्त्र पनि भयो । मलाई प्रहरीले विभिन्न बहानामा पक्राउ गरेकै हो । तर, प्रमाण नभेटिएपछि म रिहाइ भएँ । आजभन्दा २६÷२७ वर्षअघि देखि म झगडाको लाइनमा छैन । ‘यो चिज राम्रो होइन झगडा नगरुँ’ भनेर मैले छोडेको हुँ ।

रेष्टुरेन्ट व्यावसाय र क्रसर सञ्चालनका क्रममा मैले समाज सेवामा पनि हात हालेँ । मैले शिक्षा क्षेत्र रोजेँ । किनभने समाज परिवर्तनका लागि चतनशील नागरिक अनिवार्य हुन्छ ।
एक घरमा एउटा शिक्षित मान्छे भयो भने त्यो घर उज्यालो मात्रै हुँदैन चेतनाले भरिएको हुन्छ । माओवादी युद्धकालमै मैले काभ्रेका धेरै विद्यालयमा निशुल्क कोचिङ कक्षा चलाएको छु । टेष्ट परिक्षा सकिएपछि बाँकी रहेको तीन महिना एसएलसीको तयारीको लागि विद्यार्थीले कोचिङ पढ्नु पथ्र्यो । कयौँ विद्यार्थीसँग पैसा हुँदैनथ्यो । मैले कयौँ विद्यालयमा काठमाडौंबाट पैसा पठाएँ । गणेश लामाको पैसाले कुनै विद्यालयले कोचिङ चलाएको थाहा पाएमा माओवादीले त्यो स्कुल नै बन्द गरिदिन्थ्यो । तर, मैले पवित्र धारणा राखेको थिएँ । कसैले धन्यवाद देओस् वा मिडियामा आओस् भनेर होइन ।

मेरो सहयोगबाट कोही मान्छे शिक्षित भए त्यो मेरो सफलता थियो । तर मैले सहयोग गरेको कसैलाई थाहा थिएन । धेरै स्कुललाई १० वर्षसम्म लगातार पैसा दिएँ । एउटा विद्यालयबाट ३० देखि ३५ जना विद्यार्थीले एसएलसी दिन्थे । कयौँ पास भए ।

यता कयौँ झगडाहरु भइरहन्थे । झगडाको कारण हुन्थ्यो । रामेछापको एउटा गरीब भाइले काठमाडौंमा रेष्टुरेन्ट गरेर खान्छु भन्दा टोलको ट्यापेहरुले ५ वटा बियर खाइदिन्थे । त्यस्तो अवस्थामा मैले रोकेँ होला । यस्ता उदाहरणहरु थुप्रै छन् । त्यस्तो ठूलो कुनै घटना भएको होइन । गलत चिजहरुलाई लिएर कहिल्यै झगडा गरेको पनि छैन ।

मैले यसो भनिरहँदा आम पाठकहरुलाई विश्वास नलाग्न सक्छ । तर, म झूटो बोल्दिनँ । किनभने व्यक्तिको इतिहास उ जन्मेको समाजलाई त पक्कै थाहा हुन्छ । काभ्रेमा सँगै गुच्चा खेल्ने साथीहरुलाई मेरो बारेमा पक्कै थाहा छ ।

सञ्चार जगतले मलाई एउटा रुपमा परिचय दिएको छ– नाम वा बदनाम । मेरो इतिहास त्यो होइन जो अहिले भनिएको छ । दुनियाँले मेरो बारेमा पछाडी थाहा पाएको हो । मिडियाले मलाई ‘गुण्डा नाइके’ भनिरहेको छ । मलाई यस्तो लाग्छ कि नेपालका मिडिया हिन्दी फिल्म हेरेर मेरो बारेमा समाचार बनाउँछन् । म दावाका साथ भन्छु । मैले अहिलेसम्म कसैको आँशु खाएको छैन । कसैले भनिदियोस्,‘गणेश लामाले कसैलाई धम्काएर हप्ता अशुली गरेर हजार रुपैयाँ लिएको छ’ म त्यसको १० औँ हजार रुपैयाँ तिर्न तयार छु । हुनसक्छ मैले साथीहरुको लहलहैमा लागेर फरक ट्रयाकमा हिँडेको थिएँ हुँला । त्यो मेरो उमेरको उपज पनि हुनसक्छ ।

मिडियाहरु भन्छन्,‘गणेश लामाले अपराधको दुनियाबाट पैसा कमायो ।’ तर, यो भनिदैन कि मैले के अपराध गरेँ ? के मैले ड्रग्स बेचेको हुँ ? राज्यलाई अर्बौंको घाटा पुर्याउने गरी सुन तस्करी गरेँ ? मैले के काम गरेर पैसा कमाइरहेको छु । मेरो रेष्टुरेन्ट व्यावसाय, क्रसर उद्योग, निर्माण कम्पनीहरु जहाँ सयौँ युवाहरु रोजगारीमा छन् । रोजगारी दिनु के मेरो अपराध हो ?

म अपराधमा हिँजो पनि थिइनँ । आज पनि छैन र भोली पनि हुने छैन । म यस्तो स्वभावको मान्छे हुँ । कसैलाई अन्याय अत्याचार हुँदा सहयोग गर्छु । पैसा लिएर होइन ।

म जाँड रक्सी खाँदिन । जुवातास खेल्दिन । लागुपदार्थको एक पत्ता मैले खाएको छैन । म सेन्समा काम गर्ने मान्छे हुँ । म जन्मदै गर्दा काठमाडौंमा घर बन्दै थियो । यहाँ नै हुर्किएँ र केही संस्कार पाएँ ।

नेपालमा रिस फेर्नका लागि मुद्दा लगाइन्छ । ममाथि सम्पत्ति सुद्धिकरणको मुद्दा छ । सायद छिट्टै छिनोफानो होला । दिपक मनाङेको क्लियर भइसक्यो । उहाँसँग रेष्टुरेन्ट सञ्चालनको दौरानमा भेट भएको हो । म उहाँलाई दाइ भन्छु । उमेरले म भाइ हो । उसलाई अब अपराधी भन्ने कि नभन्ने ?
यहाँ थुप्रै प्रहरीका पूर्व आइजीपीहरुलाई भ्रष्टाचारको मुद्दा लागेको छ । थुप्रै मन्त्री र कर्मचारीहरु मुद्दा झेलिरहेका छन् । आफूले आफूलाई दुधले धोएको भन्ने मान्छेहरुलाई मुद्दा लागेको छ । एउटा एआइजीलाई विगार्न अर्को एआइजी लागेको हुन्छ ।

सायद मेरा विरुद्ध पनि कोही लागेको होला । म निष्ठा र इमानदारीपूर्वक व्यापार र राजनीति गर्दै गरेको युवा हुँ । मेरो पनि दिमाग छ । खट्न सक्छु । मैले समाज प्रति योगदान गरेको छु । मैले यसरी नै अघि बढ्दा केही मान्छेहरु म देखि अत्तालिएको हुनसक्छ ।
मलाई ‘गुण्डा नाइके’ भनेर समाचार लेख्ने केही पत्रकारसाथीहरु हाँसिहाँसी भन्छन्,‘ ‘तपाईंको नाम जोड्ने वित्तिकै टिआरबीटि बढ्छ । घण्टामा लाखौँले हेर्छन् ।’
मैले उनीहरुलाई प्रश्न गर्ने गरेको छु,‘कसैको चरित्र हत्या गरेर आफ्नो व्यावसाय अघि बढाउँदा यसले राम्रो हुन्छ र ?’ म व्यापार गरेर खाने मान्छेलाई गुण्डा नाइके भनिरहन मिल्छ ?

हुनसक्छ कहिलेकाँही करको दायराहरु पुरा नगरेँ हुला । म माथि मुद्दा लाग्दा कर प्रणाली त्यति चुस्त थिएन ।
यहाँ घडि किनेको बिल सबैले राख्दैनन् । यहाँ छुट पाउनका लागि श्रीमतीको नाममा जग्गा जोडिन्छ । २० लाखमा जग्गा किनेर १० लाख देखाएर कर बचाइन्छ । त्यो जग्गा एक वर्षमा बेच्दा एक करोडमा बेचिन्छ । अनि ८० लाख नाफा गरिन्छ । यो रकम ड्रग्स बेचेको भन्दा बढी कमाई हो । त्यसको स्रोत खोजी किन हुँदैन ? राज्यसँग के नीति छ ?

अर्को कुरा हामी बाँचेको संसारमा सम्पूर्णले भरिपूर्ण र कमजोरी नभएका मान्छे हुँदैनन् । गौतम बुद्धको पनि कुरा काट्नेहरु थिए । राम भगवानको पनि कुरा काट्नेहरु छन् । बिन लादेनलाई विश्वले अपराधी मानिरहँदा एउटा जात र समुदायले ‘हाम्रो मुक्तिको लागि लड्ने’ भगवान मानिरहेको छ ।

तपाईं काभ्रे जानुुस् मैले गरेको समाजसेवाको प्रभाव देख्नुहुन्छ । चाहे भूकम्पको बेला होस् या त्योभन्दा अघिको समय मैले निकै सहयोग गर्न पाएँ । २०७० को निर्वाचनमा मैले काभ्रेबाट चुनाव लडेँ । त्यहाँ ६ हजार भोट ल्याएँ । त्यो भोट त्यसै आएको थिएन । मरो समाजसेवाको परिणाम थियो । मेरो चुनावी अनुभवले बताउँछ – ‘रगत माग्नुस् २ पौण्ड रगत दिन तयार हुन्छन्, पैसा दिन तयार हुन्छन् तर, भोट दिन तयार हुँदैन । भोट मान्छेको मन र विश्वास जितेर लिनुपर्छ । चुनाव लड्न १० जनालाई मैले नमस्कार गर्न जान्नु पर्छ । म १० जनाको नमस्कार खान लायक म बन्नुपर्छ । त्यत्तिकै नेता त हुँदैन । गाली सहनुपर्छ । मैले जीवनमा धेरै गाली सुनेको छु । पछाडी कुरा काट्नेहरु छन् । काठमाडौंको बजारले मलाई एउटा ढंगले चिन्छ । तर, मेरो गाउँमा त्यस्तो छैन । मैले ढोग्नुपर्ने मामा भन्नुपर्ने काका भन्नुपर्नेहरु धेरै छन् । यो ठूलो डन हो भनेर मलाई गाली नगर्ने होइन । मलाई नेता भनेर गाली गर्छन् ।

मैले गुण्डागर्दी नगर्दा पनि सञ्चार जगतले ममाथि दुष्प्रचार गरिरहेको छ । जसले मेरो परिवार र सन्तानप्रति निकै नकारात्मक असर समेत देखिएको छ । म एउटा घटना सुनाउँछु । म कान्तिपुर र नागरिकको नियमित ग्राहक थिएँ । छोरो ६ वर्षको थियो । ‘डन’ गणेश लामा’ भनेर कान्तिपुरमा छापिएको रहेछ । छोराले त्यो तस्विर देखेपछि पत्रिका घिसार्दै ल्यायो र, भन्यो,‘बाबा‘बाबा.. तपाईंको फोटो रहेछ, ।’ त्यतिबेला मेरो आँखाभरी आँशु भयो । त्यो दिनदेखि म पत्रिकाको ग्राहक बन्न सकिनँ । विहान उठेर पत्रिका पढ्दा सँधै झस्किन्थेँ ।

जतिबेला हामीले नेपाली कांग्रससँग पार्टी एकता गर्यौँ । त्यो समय पार्टी एकीकरणलाई होइन मेरो तस्विरलाई महत्व दिइयो । पार्टी प्रवेशमा मलाई ‘डन’ भनेर जोडियो । यसले नेपालको पत्रकारीताको दरिद्रता देखाउँछ । प्रीय पत्रकार मित्रहरुले सक्नुहुन्छ भने चुरोट खाएको मान्छेलाई छुटाउनुस् धर्म हुन्छ । ड्रग्स खाएको मान्छेलाई मुक्त गर्नुस् त्यहाँ तपाईंको पत्रकारीताको अर्थ रहन्छ । मान्नुस् कि म हिँजो झगडिया थिएँ । गुण्डा थिएँ । तर, मैले कानुन अनुसार सजाय भोगेर समाजमा सेवा गर्छु सुध्रन्छु भन्न पाउँदिन ? कतिपय नेताहरु ठूला क्राइमबाट आएका छन् तर, मेरो त्यस्तो इतिहास पनि त होइन । मिडिया वा प्रशासनले कस्तो समाज चाहेको छ । ड्रग्स खाएर सुध्रेको मान्छे फेरी ड्रग्स नै खाइरहोस् भन्ने चाहान्छ ?

म सुध्रिन्छु । राम्रो काम गर्छु भनिरहेको छु । तर, मलाई जबरजस्ति ‘तँ अपराधी नै होस्’ त अपराधकै बाटोमा हिँड भनियो भने मैले देश छोडेर जानुपर्छ । अनि मेरो छोराले रोडमा मागेर खानुपर्दैन ? मेरी श्रीमतीले आफ्नो पेट पाल्न गलत बाटो लाग्नुपर्छ । मेरो बाबु आमाको मुख हेर्न पाउँदिन भने मान्छे जन्मिएपछि एक पटक अवश्य मर्नैपर्छ । त्यो मान्छेले दिमागमा अपराध नै गर्न चाहयो भने आतंक त फैलाउन सक्छ । के प्रहरीले यही गराउन खोजेको हो त ? यसको विरोधमा बोल्ने की नबोल्ने ?

विमानस्थलमा जाँदैगर्दा कहिलेकाँही भर्खरका टिनेजका केटाहरु खुरुरु दौडेर आउँछन् र ‘दाइ एउटा फोटा खिचाउँछु’ भन्छन् । उनीहरु मलाई ठूलो मोडल वा एक्टर भनेर फोटो खिच्न आएका होइनन् । न त नेता भनेर नै आएको हो । ‘डन गणेश दाइ भनेर फोटो खिच्न आएका हुन् । फोटो खिच्नका लागि उभिँदै गर्दा मेरो आत्म रुन्छ । मलाई निकै नमजा लाग्छ । मन पोलिरहेको हुन्छ । म दुई हात जोडेर भन्छु म ‘डन गुण्डा’ होइन । मैले कसैलाई अन्याय पर्दा मैले सहयोग गरेकै हुँ ।

तर हामीले पेसा नै अपनाएर गुण्डागर्दी गरेको होइन । मिडियाले गणेश लामाले अपराधको बाटोबाट पैसा कमायो भनिरहँदा देश गरीबीको चपेटामा छ । काभ्रेको एउटा कुना, झापा वा सुन्सरीबाट आएको बेरोजगार युवा २५ सय रुपैयाँको लागि वेटर काम गर्न खोजी हिँड्छकि ३ सय रुपैयाँको खुकुरी बोकेर धनी बन्न हिँड्छ ?

अपराध समाजको जगद्वरा निर्धारण हुन्छ । अपराधको जड के हो ? किन बढिरहेको छ देशमा अपराध ? हामीसँग राज्यले बुझोस् हामी सहयोग गर्न तयार छौँ । हामी काउन्सेलिङ गर्न पनि तयार छौँ ।

अपराधको ठूलो कारक बेरोजगारी हो । अपराधको जड गरिबी हो । कोही पनि मान्छे आमाको कोखबाट जन्मनु अघि ‘चोर’ बन्छु भनेर जन्मिदैन । जब उ जन्मिन्छ । उ बाँचेको समाजले बाध्यताहरु सृजना गरेको हुन्छ । एक पेट खान र एक सरो लगाउनका लागि मान्छे चोरी गर्न बाध्य छ । चोरी गरेर खाने मान्छकोे समयक्रममा चोरी आदत बनिदिन्छ । राज्यले नै यो बारेमा सोच्नुपर्छ ।

०००

काठमाडौंमा नयाँ एसएसपी आउने वित्तिकै चक्रे मिलन समातिए । तर, उनलाई कुन मुद्दामा समातेका हो ? २४ दिन सार्वजनिक मुद्दामा राखेर छाडियो । त्यो नै समाधान हो त ?

अहिले अपराधमा हिँडिरहेका मनोज पुन र समिर बस्नेत भनिने केटाहरु कुमार घैँटे मारिएपछि भागेका हुन् । घटनाहरु घटाइरहेका छन् ।
केही दिनअघि शरद गौचनलाई गोली हानियो । प्रहरीलाई धम्की आयो,‘गोली हान्ने हामी हौँ, ’ कतिपय माननीय जस्ता व्यक्तिलाई समेत फोन गरेर ‘यति पैसा नपठाए तेरो पालो हो’ समेत भनियो । त्यो हो आपराधीक लाइन् । उनीहरुको पेसा नै त्यो हो ।

तर, म नेता हुँ । जनताको सेवा नै मेरो धर्म हो । एउटा गरिब परिवारको मान्छे अभावहरु पूर्ति गर्न मलेसिया जान्छ । उसले गाउँमा रहेकी आफ्नो बुढी आमाको एक तोला सुन, बाख्रा, भैँसी वा कुखुरा समेत बन्दकी राखेर चर्को ब्याजमा ऋण लिएको हुन्छ । तर, यहाँका मेनपावरका दलालहरुले उसले चर्को ब्याजमा लिएको एक डेढलाख पैसा पनि लुट्छन् । झूटो प्रलोभनमा पार्छन् र खाडी मुलुकमा एक हजार तलबको प्रलोभन देखाउँछन् र ५ सय पनि दिँदैनन् । यस्ता कयौँ अन्यायमा परेका पीडितहरु मलाई भेट्न आउनु हुन्छ । आफ्नो पार्टीको परिचय सहित उनीहरुलाई फोन गरेर भनेको छु,‘गरिबको पैसा नखानुस् ।’ जसले गरीबको पैसा खान्छ त्यो अवस्थामा मलाई निकै आक्रोश पनि हुन्छ ।

लोकतन्त्र संकटमा परेको बेला मेरो उम्मेदवारी

लोकतन्त्र अहिले संकटमा छ । लोकतन्त्र चाहने र नचाहानेबीच धुर्विकरण भएको छ । मैले काभ्रेमा प्रदेश सभामा टिकट पाएको छु । म काभ्रेको निर्माणको लागि चुनावमा होमिएको हो । कांग्रेसको सच्चा सिपाहीको नाताले म पार्टीका सबैलाई म समर्थन गर्छु ।

आफूलाई पाए ठीक अरुलाई पाए बेठिक भन्ने राजनीतिक संस्कार नै होइन । व्यक्ति होइन पार्टी जिताउने रणनीतिमा लागौँ । म समाजमा सेवाको लागि राजनीतिमा लागेको हुँ । बाचुन्जेल देश र जनताको सेवामा लाग्नेछु । दियाे पाेष्ट

तपाईंको प्रतिकृया
Loading...