म्यादी प्रहरीमा फेरि मौका

loading...

काठमाडौं । मंसिर १० र २१ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका सरकारले ९८ हजार ३ सय ६८ युवाका लागि म्यादी प्रहरीमा भर्ना खुलाएको छ । आज असोज २४ देखि असोज ३० गतेसम्म दरखास्त दिन पाइनेगरी नेपाल प्रहरीले आवेदन खुलाएको छ । काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रहरी परिसरहरु र उपत्यकाबाहिर सम्पूर्ण जिल्ला प्रहरी कार्यालमा दरखास्त बुझाउन सकिने नेपाल प्रहरीले जनाएको छ ।

तर नवलपरासी र रुकुमको हकमा भने पहिलेकै जिल्ला प्रहरी कार्यालयमा दरखास्त बुझाउनुपर्ने छ । दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पुरा भई ५४ ननाघेका युवाहरुले आवेदन दिन सक्ने छन् । साधारण लेखपढ गर्न जान्ने जोकोही नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । यद्यपी सुरक्षा निकायमा काम गरेको अनुभव भएकालाई प्राथमिकता दिइने बताइएको छ ।

असोज ३० गतेसम्म आवेदन संकलन भएपछि आवेदन दिएकोले कात्तिक १ गते आवेदन बुझाएको प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्ने छ । त्यस्तै कात्तिक ५ गतेदेखि ८ गतेसम्म छनौट प्रारम्भ हुनेछ। १० गते छनौट भएकाहरुको नतिजा सार्वजनिक गरिनेछ । छनौट भएकालाई कात्तिक १२ देखि २४ गतेसम्म प्रशिक्षण दिइने बताइएको छ । प्रहरी जवानले पाएसरहको तलव, भत्ता र सुविधा म्यादी प्रहरीले पाउने छन् ।

म्यादीलाई सुविधा
म्यादी प्रहरीले ५५ दिन खटिएबापत आधारभुत तलब १७ हजार २ सय ३० रुपैयाँका दरले राशन, पारिश्रमिक र स्थानीय भत्ता पाउने छन् । त्यस्तै निर्वाचनको दिन सात दिनको लागि प्रतिदिन २५० रुपैयाँका दरले विशेष भत्ता र २५० रुपैयाँ नै खाजा खर्च पाउने छन् । म्यादीमा छनौट भएकाले ४ हजार पोसाक भत्तँ पाउने छन् भने बाटो खर्च स्वरुप एक हजार रुपैयाँ पनि उनीहरुले पाउने छन् । म्यादी प्रहरीको दरखास्त फारमको लागि यहाँ क्लिक गर्नुहोस् । सो फारम भरेर साथमा पिपि साइजका दुई फोटो, नेपाली नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताको प्रतिलिपी र सुरक्षा निकायमा काम गरेको अनुभव भएमा सोको प्रतिलिपीसँगै प्रहरी परिसरमा लगी बुझाउनुपर्नेछ ।

तपाईंको प्रतिकृया
Loading...