चुडामणिले यसरी खान्थे चुपचाप

loading...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा दीप बस्न्यात नियुक्त भएपछि लोकमानले भन्ने गरेका ‘ठूला माछा’ अख्तियारको जालोमा पर्न थालेको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अख्तियारले पक्राउ गरेपछि अकूत सम्पत्तिमा अख्तियारले छानविन गरिरहेका विशिष्ट श्रेणीका कर्मचारीहरु आत्तिन थालेका छन् ।

अख्तियार स्रोतका अनुसार अकूत सम्पत्तिमा छानविनमा परेका कतिपय व्यक्तिसँग तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीले अनुचित फाइदा लिएर तामेलीमा राखेका फाइलसमेत बस्न्यातले खोल्न थालेका छन् । जुन फाइलमा भन्सार, कर, राजस्व, सडक, दूरसञ्चार, काठमाडौं महानगरपालिका र प्रहरी अधिकृतहरुको नाम रहेको छ ।
पक्राउ परेका चुडामणि शर्माले १ हजार ६९ करदाताले सरकारलाई बुझाउँछु भनेको र बुझाउनुपर्ने ३० अर्ब ५२ करोड ५८ लाखमध्ये २१ अर्ब रुपियाँ छुट दिई ९ अर्ब ५४ करोड ६१ लाख रुपियाँमात्र कर फस्र्योट आयोगबाट असुली गरिएको थियो । यसरी कानुन विपरीत करछुट दिएको कुरा महालेखा परीक्षकको प्रतिवेदनमा औंल्याएपछि अख्तियारले छानबिन गरेको थियो ।

२१ अर्ब कर छुट दिने क्रममा ठूलो अनियमितता गरेको आरोपमा पक्राउ परेका शर्मामाथि अकूत सम्पत्ति आर्जनमा पनि अख्तियारले अनुसन्धान गरी मुद्दा दायर गर्ने भएको छ । शर्माले सुनसरीदेखि ललितपुर र काठमाडौंको प्रमुख जिल्ला अधिकारी, सम्पत्ति शुद्धिकरण नियन्त्रण विभागको महानिर्देशक हुँदै विगत ३ बर्षदेखि आन्तरिक राजस्व विभागको महानिर्देशक हुँदासम्म अकूत सम्पत्ति आर्जन गरेका दर्जनौं उजुरी अख्तियारमा परेका छन् । तर पूर्वप्रमुख आयुक्त कार्कीले उनका सबै उजुरी तामेलीमा राखेका थिए । कार्की अदालतबाट पदमुक्त भएपछि कार्यवाहक प्रमुख आयुक्त भएका दीप बस्न्यातले अकूत सम्पत्ति आर्जनमा कार्कीले उन्मुक्ति दिएका धेरै उच्चपदस्थ सरकारी अधिकारीको छानबिन गर्ने बताएका थिए । तिनैमध्येका सबैभन्दा बढी विवादमा परेका सहसचिव शर्मा हुन् ।

तपाईंको प्रतिकृया
Loading...