भुटानमा नेपाली व्यवसायीका लश्कर

नेपालका तर्फबाट १ सय २ वटा स्टलहरु

loading...

अनलाइन पत्रिका
भुटान, थिम्पु ।
भुटानमा सातौं अन्तर्राष्ट्रिय मेला प्रारम्भ भएको छ । मेलामा नेपालका तर्फबाट १ सय २ वटा स्टलहरु राखिएको छ । मेलामा नेपालसँगै भारत, भुटान, थाईल्याण्ड गरी ४ देशका २ सय ३४ वटा स्टलहरु राखिएको छ ।

ललितपुर उद्योग वाणिज्य संघ भुटान उद्योग बाणिज्य संघबीच सम्झौता भएको २००९ देखि नेपाली व्यवसायीहरुले हरेक वर्ष हुने मेलामा सहभागी जनाउँदै आएका छन् । हालसम्म पनि अन्य नेपाली वस्तुको भारतीय वस्तुसंँग प्रतिस्पर्धा रहेपनि धातुकलाको वस्तुमा भने नेपाली एकछत्र रहेको पाइन्छ ।

भुटान उद्योग बाणिज्य संघले आयोजना गरेको सो मेलामा नेपालको तर्फबाट विशेषत मूर्तिकलासँगै थांका कार्पेट, पश्मिना र पूजा तथा धार्मिक महत्वका विविध सामाग्रीहरु राखिएका छन् । पुस्तौदेखि मूर्तिकलाको काम गर्दै आएका ललितपुरको लुभू, नागबहाल, ओकुबहाल हःखा भिच्छेबहाल लगायत क्षेत्रका करिब ३ सय जना कालिगढ, हस्तकला व्यवसायी, व्यवसायीहरु एकल र संयुक्त रुपमा स्टल राखिएको छ ।

सो मेलाको उद्घाटन भुटानका अर्थमन्त्री नाम्गे दोर्जीले गरेका थिए । भुटान उद्योग बाणिज्य संघका महासचिव फूप छिरिङले नेपाल र भुटानको बाणिज्य संघ बीचको सम्बन्धमा विशेष जोड दिए । ‘दुई देशबीचको कला संस्कृति, बुद्ध धर्मको अत्याधिक प्रभाव, भाषा, रहनसहन, भौगोलिक अवस्थामा समानता रहेका कारण त्यहाँका हस्तकला, मूर्तिबाहेक धार्मिक तथा पूजा सामाग्रीको पनि भूटानमा माग बढ्दो छ’ उनले भने, ‘अन्य देशहरुझैं दुइ देशबीचको वाणिज्य संघ बीचको आत्मियता पनि प्रगाढ छ र यो मेलाले अझ प्रगाढ बनाउने छ ।’

प्रत्येक वर्ष औद्योगिक मेलामा नेपालीहरुको पहुँच सहज बन्दै गइरहेको अध्यक्ष सविन श्रेष्ठ बताए । ‘यस पटकको मेलामा पनि करिब १० करोड हाराहारीको कारोबार अपेक्षा गरेका छौं’’ – अध्यक्ष श्रेष्ठले भने ।

ललितपुर उद्योग बाणिज्य संघका महासचिव भरतलाल जोशीले दुई देशका व्यवसायीहरु बीचको सम्बन्ध अझ सुमधुर बनाउन संघको अग्रसरमा हरेक वर्ष झै विहीबार नै नेपाल नेपाल डे विशेष रुपमा मनाएको बताए । सो मेला असोज २ गते सोमबारसम्म चल्ने छ ।

तपाईंको प्रतिकृया
Loading...