“यहाँ सत्ताको दुरुपयोग भइरहेको छ, बल र पैसाको प्रयोग भइरहेको छ चुनावी परिणाम हात पार्नलाई” – डा.बाबुराम भट्टराई

loading...

baburam banner new with logo

जनयुद्ध थाल्नुअघि तपाईले ४० बुँदे माग बुझाएका शेरबहादुर देउवा फेरी प्रधानमन्त्री बन्नुभएको छ । यो दुई दशक लामो कालखण्डलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
२०५२ माघ २१ गते हामीले राखेको मुख्य माग भनेको गणतन्त्र स्थापना र जनताको प्रत्यक्ष सहभागितामा संविधानसभा गठन गर्ने अनि त्यहीमार्फत गणतान्त्रिक संविधान लेखन थियो । २३ वर्षपछि आज फर्केर हेर्दा त्यो माग त पूरा भयो तर जनजीविका र आर्थिक विकाससँग सम्बन्धित अन्य कुरा पूरा हुन बाँकी छन् । छिमेकीसँग असमान सन्धिलाई सच्याउने काम पनि बाँकी छ । यसरी भन्दा हाम्रा राजनीतिक माग त पूरा भए तर आर्थिक र राष्ट्रियतासँग सम्बन्धित विषय भने पुरानै हालतमा छन् ।

यसरी समस्या ज्यूँकात्यूँ रहिरहेको बेला तपाईले देशको सहयात्रा गरेका प्रचण्डले नै फेरि सत्ता देउवालाई दिनुभयो नि ?
यो विडम्बना हो । त्यो विद्रोहको नेतृत्व गरेका प्रचण्डले हामीले ४० बुँदे माग बुझाएका शेरबहादुर देउवालाई सत्ता बुझाउनु रोमाञ्चक र रोचक विषय हो ।

भनेपछि जम्मा एउटा माग पूरा भयो अनि फेरि अहिले उनै व्यक्ति सरकारप्रमुख बने । यसले त परिवर्तन नै नभएजस्तो देखिएन र ?
त्यो एउटा मागमा धेरै कुरा थिए । विश्व इतिहासलाई हेर्यो भने राजनीतिक परिवर्तनपछि मात्रै औद्यागिक क्रान्तिको ढोका खुलेको छ । त्यस अर्थमा हाम्रो अरुभन्दा सय वर्ष ढिलो भइसकेका थियौं । माओवादी जनयुद्धले जसरी राजतन्त्रको अन्त्य गरी संघीय गणतन्त्रमा पुर्याउने काम गर्यो, त्यो ठूलो उपलब्धि हो । त्यसबाहेक संविधानसभाबाट जनताको सार्वभौमसत्ता स्थापित हुने संविधान लेखेर जुन प्रणाली स्थापित भयो, त्यो युगान्तकारी उपलब्धि हो । वजन नै हेर्ने हो भने अरु ३९ बुँदा र यसमा यही बढी गह्रुँगो हुन्छ । तर, यसलाई संस्थागत गर्न आर्थिक विकास र समृद्धिको पक्ष तथा राष्ट्रियतामा रहेको असन्तुलन मिलाउन बाँकी नै छ । त्यसैले यत्रो परिवर्तनपछि पनि देश राजनीतिक अन्योल र अस्थिरतामा फँसिरहेको छ ।

तपाईले अझै माग पूरा हुन बाँकी नै छ भनेर सहयात्रीहरुको साथ छाड्दै नयाँ पार्टी स्थापना गर्नुभएकोमा निर्वाचनमार्फत त जनताले त्यसलाई सदर गरेजस्तो देखिएन नि ?
विकास र समृद्धिमुखी राजनीति गर्नलाई नयाँ विचारसहितको संगठन चाहिन्छ भने विचारसंहिताको संगठन चाहिन्छ भन्ने प्रस्तावनाअनुसार नयाँ शक्ति शुरु गरेको हुँ । हामीले यो संविधानअन्तर्गत राज्यलाई ३ तहमा विभाजन गरेका थियौं, संघ, प्रदेश र स्थानीय । तर ती तहको निर्वाचन उल्टो प्रक्रियामा गरियो । हुनुपर्ने थियो पहिले संघको निर्वाचन, त्यसपछि प्रदेश अनि स्थानीय तहको निर्वाचन तर पुराना राजनीतिक शक्तिले हिंजो संविधानसभाको जनमतलाई कायम राख्दै राज्यसत्ताको दोहन गरेर पिछडिएको देशमा तलबाट निर्वाचन शुरु गरे जुन यो परिवर्तनको मुख्य स्पिरिटसँग मेल खाँदैन । हामीले शुरुमै यो विषयमा मितभिन्नता राखेका थियौं । तर, सुनवाइ भएन ।

नयाँ शक्ति पनि त तपाईलै उल्टै विधिबाट गठन गर्नुभएको थियो नि, जनतासँग छलफल र संगठनात्मक सम्बन्ध नजोडी पुरानै तरिकाले माथि पहिले केन्द्र बनाएर । त्यो गल्तीको परिणाम होइन अहिले देखिएको ?
कुनै पनि नयाँ विचार स्थापित हुन समय लाग्छ । एक वर्ष भनेको लामो अवधि होइन । हामी लोकत्नत्र पनि समृद्ध गरिरहेका छौं किनभने अहिलेको लोकतन्त्र औपचारिक लोकतन्त्र मात्र हो । यहाँ सत्ताको दुरुपयोग भइरहेको छ, बल र पैसाको प्रयोग भइरहेको छ चुनावी परिणाम हात पार्नलाई । त्यसैले हामीले प्रत्यक्ष र सहभागितामूलक लोकतन्त्रका कुरालाई मुख्य एजेण्डाको रुपमा अघि सारेका छौं । नयाँ विचारलाई स्थापित गर्न जनताका अभियानसँग जोडिनुपर्छ भने पुराना विचारलाई विस्थापित गर्ने काम पूरा गर्न पनि केही समय लाग्छ । हामी अलिकति पनि हतोत्साही छैनौं । कमसेकम चुनावमार्फत संगठन विस्तार, विचार स्थापित गर्ने अभियान चलाउन पाएका छौं ।

संघीय समाजवादीसँग पार्टी एकता गर्नुभएको छैन तर चुनाव चिन्ह उसैको प्रयोग गर्नुभएको छ । यसो हुँदा संघीय समाजवादीले उम्मेदवार नउठाएको ठाउँमा मात्र तपाईहरुले उम्मेदवारी दिन पाउनुहुने भो होइन ?
निर्वाचन आयोगमा विधिवत् दर्ता भएको पार्टीलाई चुनाव चिन्ह नदिने जुन प्रपञ्च रचियो, यो अत्यन्त दुर्भाग्यपूर्ण र एक प्रकारलष्े दलमाथि प्रतिबन्ध लगाउने जस्तो कुरा हो । यो हाम्रो बाध्यता हो कि हामी अर्कै पार्टीको चिन्हबाट निर्वाचनमा सहभागी भइरहेका छौं । त्यसैले भरसक मिलाएरै उम्मेदवारी दिएका छौं । एकाध ठाउँमा सामान्य विवाद त हुन्छ नै तर ठूलो समस्या छैन । हामीले चुनावलाई संगठन विस्तारको माध्यम बनाएका छौं । यसैक्रममा कतै कतै हाम्रा उम्मेदवारहरु निर्वाचित हुनुचाहिं सुखद कुरा हो ।

केही समयअघि तराई क्षेत्रको चुनावी दौडाहा गर्नुभयो । कस्तो रहेछ स्थिति ?
राजनीतिक रुपमा परिवर्तन भएको छ तर आमजनताले अनुभूत गर्ने भनेको आफ्नो जीवनमा परिवर्तन आएपछि हो । अब आर्थिक, सामाजिक रुपमा जुन सम्बोधन यो बीच हुनुपथ्र्यो त्यो नभएको कारण जनताले परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । तैपनि, राजनीतिक रुपमा सचेत भएका छन् ।

– जनआस्थाबाट 

तपाईंको प्रतिकृया
Loading...