आलेख: छोरा ! मेरो कात्रो माथी कुनै दलको झण्डा नपरोस्

18052550_1302071296496827_773812937_nएक प्रहरीको घरमा जन्म लिएर होला मलाई सानै देखि कुनै दल,कुनै झुण्ड सँग लगाब भएन । प्रहरी चौकी भित्र खेले खुर्किएको हुनाले एक सच्चा प्रहरी बन्ने एउटा अज्ञात रहर पलाएको हो सानै देखि,ठूलो भए पछि पनि त्यो भुत कायम थियो । तर देशको विषम परिस्थिति ,बेरोजगार हुदाको तनाव सबैलाई मध्य नजर गरेर हरियो पासपोर्ट बोकेर लागियो खाडी मुलुक । लगभग ८ वटा वसन्त बिताइयो यो मरुभूमिको देशमा । यहाँको नियम कानुन अनि देश विकासको खाका देखेर म सधै अचम्मित हुन्थे । बालुवाको ठिस्कोलाई सुन्दर शहर,शुन्दर बगैंचा बनाएर विश्व मानचित्रमा पावर लेन्सले हेर्नू पर्ने नक्सा भएको देश आज सबैको नजरमा विकशित देश भनेर चिनिन पुगेकोछ । आखिर भएको श्रोत साधनको सहि सदुपयोग हुन सक्दा हाम्रो देशमा पनि यसरी विकास गर्न सकिन्न र ? यी र यस्ता प्रश्नले मनमा हुटहुटी पैदा नगरेको पनि होइन । राजनीतिक खिचातानीले खिन्नता भएको युवा मन अरुकै देशमा पसिना पोख्दैछौ ,दुख लाग्छ यत्रो श्रम शक्ति भएको देश आज पलायन हुदैछ  आफनै कारण । मलाइ लाज लाग्छ विदेश बसेर खोक्रो राष्ट्रियता भुक्नलाइ ।
२०५८/५९ ताका जब मैले माओको पुस्तक पढ्ने अवसर पाएँ,त्यो ताका मेरो झुकाब माओवादी तर्फ केही हद सम्म बढेको सत्यतालाई लुकाउन उचित मान्दिन । यसमा  मलजल गरे मेरा केही सहपाठीहरुले जसले आफ्नो पढाईलाई तिलाञ्जली दिएर माओवादी लाल सेना बनेका थिए । एक दिन जब मैले आफ्नै आँखाले देखे बर्बरताको पराकाष्ठा तब मेरो मन धमिलो भयो । यी सबै बाघका खोल ओढेका स्याल हुन लाग्यो । कुरो ताप्लेजुङको हो मैले आफैले पढेको स्कुलको प्र अ अनि गाउँका केही व्याक्तीलाई बर्बरता पूर्वक भाटे कारवाही गरियो , यस्ता पशु मनस्थिति भएकाहरु देशका भविष्य निर्माता होइनन् ,आज त्यो प्रमाणित भएको छ । सिमीत मान्छेको स्वार्थको खातिर कसरी सोझा सिधालाइ बलीको बोका बनायो त्यो छर्लङ्ग देखिएको छ । जिउदै मान्छेलाइ (जनतालाई)बसमा जनाउने, आफ्नै देशका जनता,दाजुभाइलाई मार्ने मानव होइनन् हुँदै होइनन् । यसरी विभिन्न घटनाक्रमले  मलाई राजनिती फोविया भयो, अझै यो फोबिया कायम छ । सायद अन्त्य सम्म रहनेछ ।
हेर्दा हेर्दै कस्तो हाम्रो देश कस्तो भयो ,जातिय,धार्मिक युद्धको सुरुवात भै सकेको आवास हुन थालेको छ । दूर देशमा समाचार पढेर मन खिन्न बनाएर बस्न भन्दा अर्को उपाय छैन म सँग । एक मन भन्छ आजै जाउ ती टाउकेहरुलाइ सफाया गरौ,तर हत्या सबै समस्याको निदान होइन । अनि एक्लो हठ एउटा आवेगको निर्णयमात्रै हुनाले टुलुटुलु देश बाँडिएको,जलेको हेरेर बस्न भन्दा अर्को उपाय छैन म सँग ।
हिजो आज मान्छे नमरेको,देश बन्द नभएको समाचार हेर्न पाइन्न । कस्तो देश बनाउने सपना बाँडेका थिए थियो आज कस्तो बनाए सबैले देख्दैछौ ।अझै कति हामी ती विवेकहीन झुण्डको पछी लाग्ने ? के देश भन्दा ठूलो दल हो ,झुण्ड हो ? देश नरहे हाम्रो इतिहास ,पहिचान रहन्छ ? हो हिजो सत्तामा आशिन केही टाउकेहरुले सबैलाई दबाएर राखे,ईतिहास साक्षी छ मैहु भन्नेहरुको सत्ताच्युत कसरी भएको छ , कसरी इतिहासमा कालो पोतिएको छ अनुहार । विवेक प्रयोग गरौ अझै केही बिग्रेको छैन । अब पनि नगरे कहिले गर्ने? हामीले नगरे कसले गर्ने ? फुटेर देशमा विकाश हुन्न ।एकता आजको आवश्यकता हो , आवस्यकताको पहिचान गरि अगाडि बढ्नु पर्छ । सबैमा चेतना आओस् नत्र नेपाल भन्ने देश हिजो भन्ने इतिहास पढ्नु पर्नेछ हाम्रो सन्तानले । के यो दिन देख्न आतुर छौ हामी ?
“खासमा राजनीति गलत होइन तर राजनीतिक दलहरुले गरेको हर्कदले हामीमा वितृष्णा पैदा गरेको छ । यसरी युवामा राजनीतिको फोविया हुनु घातक संकेत हो । तर अझै पनि मलाई कुनै दलको झण्डा बोक्न रहर छैन । म एक सिङो देशको , चन्द्र सुर्य अंकित झण्डा लिएर अगि बढ्न चाहन्छु । विश्वास गर्नुस् देश भन्दा ठूलो,राष्ट्रिय झण्डा भन्दा  प्यारो केही हुन्न “
केही परिवर्तन गर्न चाहने देशभक्त नेता नजन्मिएका होइनन् ,तर उनिहरु अनेक षड्यन्त्रको सिकार बने । इतिहास लेख्ने हात,प्रगती संशोधन गर्ने ओठ सधैको लागि बन्द गरियो । दुःखद् अनुभुतिहरुको पर्खाल अब पार गर्नुछ , उ हेर्नुस् त उ त्यहाँ क्षितिजमा सुन्दर भविष्य मुस्काइ रहेछ । के त्यो मुस्कान टेप्ने हाम्रो कर्तव्य होइन ?? कतै हामी कर्तव्य बाट भागेर अधिकारको सुगा रटाइमा लागेका छैनौ ? विवेक प्रयोग गरौ ।
देश बाल्न लागिपरेका साथीहरु सोच्नुस हामी पहिले के हौ ? नेताहरुले हाम्रो मूल्य तोक्दा उनिहरुलाई प्रश्न सोधौ के हाम्रो मूल्य यति हो? आखिर हामीले मरेर के पाउछौ ? सोध्ने बेला आएको छ अब, अब पनि मौन रहे धिक्कार छ हामीलाई । नेताहरुको हठ र स्वार्थ बेलैमा बुझौ , मरेर मारेर होइन बाँचेर अनि बाँच्न दिएर भोगौ सुन्दर नेपाल । हाम्रो लासमाथी कसरी राजनीति हुदैछ ? त्यो राजनीतिले फाइदा कसलाई ? के टुक्राटुक्रा देशको नागरिक हुन मञ्जुर छ हामीलाई,प्रदेश मुख्य कुरो होइन हाम्रो पहिचान रक्षा के प्रदेशले मात्र गर्छ ? खोइ सोचेको ? हामी देख्दैछौ कसरी ठूला भनाउदा दलका नेताहरु डनको मृत्युमा शोकाकुल छन् के हामी मर्दा पनि यिहरुले आँसु बगाउछन । अह बगाउने छैनन् लेखेर राखे हुन्छ यी नेताहरु अब भुसिया कुकुर भै सके,केही बिटा पैसामा बिकि सके । अब हामी यी भुसियाको इसारामा नाँच्ने समय छ ? प्रश्न आफै बनाएर गम्भीर भएर जवाफ खोजौ । कुकृत्य गर्नेलाई सामुहिक बहिस्कार गरौ । एक सुन्दर शान्त अखण्ड नेपाल कायम राखौ यसैमा हाम्रो कल्याण छ   नत्र देश सोमालिया हुनेछ,आफ्नैलाई मारेर बाँच्ने दिन आउनेछ । विवेक खोपिबाट निकालेर दिमाग लगाउ । मृत्यु सबैको हुन्छ तर बेतुकको मृत्यु नरोजौ ।
छोरा ! तिमीहरुकै भविष्य बनाउन परदेश भाँसिएको म । अब बेला आएको छ देशलाइ बचाउने ।अब म आउनेछु , सक्दिन बस्न टुलुटुलु हेरेर । हो मेरो पनि मृत्युको मुल्य तोक्नेछन यी देश भडुवाहरुले । तिम्ले मेरो मृत्युलाई एउटा बलिदान सम्झिनु देशको खातिर तर नदिनु मेरो लासमा कुनै दलको झण्डा ओढाउन । मेरो लासमाथी राजनीति हुन नदिनु । म एक नेपाली हुँ नेपालीनै मर्न चाहन्छु नकि कुनै दलको कार्यकर्ता ।
निराजन प्रभात
भद्रपूर नगरपालिका १३
हाल दोहा कतार 
तपाईंको प्रतिकृया
Loading...