कथा:आवेगले जन्माएको प्रेम

loading...

“राजालाई त मार्यो हामी मुलाङलाई के छोड्छ? हिँड केटा हो बम्बई”-बिरिङ खोलाको किनारको सुकुम्बासी टोलमा २-४ दिन यसै भन्दै डुल्यो प्रताप मगर।तर बम्बई गईदिने कोहि पाएन।गाऊँका अन्य बाबुआमा पनि नडराएका त हैनन् तर प्रतापको साथ लाएर आफ्ना छोराहरू पठाउँन कोहि राजी थिएनन्।सानैदेखी उद्धण्ड स्वभावको प्रतापले ६ क्लासमा फेल भएपछी बाटो ढुकेर मास्टरको टाउकोमा ढुंगाले हानेर स्कुल नै हापेको थियो र १२-१३ बर्षको उमेरमा गाऊँकै एकजना बम्बईयाको साथ लागेर बम्बई गएको थियो। झण्डै ८ साल बम्बईमा बस्यो।त्यो आठ सालमा चिठी,खवर केही गरेन न त पैसा नै पठायो।कहिलेकाहिँ प्रतापको आमा छोरो सम्झेर रून्थिन, तर उस्को बाबुले एक शब्द कहिल्यै केही भनेन छोराको बारेमा । यस्तो लाग्थ्यो उस्ले आफ्नो छोरो छ भन्ने नै बिर्सिसकेको थियो।

तर एकदिन प्रताप आयो । त्यो पनि कारमा चढेर ।बिर्तामोडबाट कार भाडामा लिएर सुकुम्बासी टोलमा उत्रीयो प्रताप।त्यो बाक्लो बस्तीमा कुदाकुद नै भयो। मेला लागे झैं प्रतापको घर अगाडि मान्छे भेला भए।प्रताप कार बाट उत्रीयो र कारको ढोकालाई सान सँग खुट्टाले ठेलेर लगाईदियो। आमा कुदेर आईन् , बाबु आगनमा डोको बुन्दै रहेछ , बुनि नै रह्यो। उस्ले वास्ता गरेन।नाबालक हुँदै घर छोडेको प्रताप लक्का जवान भएर फर्किएको थियो । ऊ मुसुक्क हाँस्यो र आमालाई ढोग्यो , आमा रोईन् ।डोको बुन्दै गरेको बाबुलाई ढोग्न गयो तर बाबुले हेर्दै नहेरी -‘हेई ल ल भयो’ भनेर यस्सो हात दियो।यतिकैमा कारवाला करायो-‘भाई , भाडा मिलाईदिनु न म जान्छु’ । प्रतापले यसो गोजी छामछुम पार्यो र आमातर्फ हेर्दै-‘सबकुछ भारू हजारको नोट छ।उस्को दो सौ देउ त आमा,म भरे तिर्छु गुस्सा नगर’ भन्यो। आमाले आफ्नो पटुका फुकाईन र दुईसय रुपैयाँ कारवालालाई दिईन।अहिले बल्ल बाबु चाहिँले टेंडा आँखाले हेर्यो प्रतापलाई र बुन्दै गरेको डोकोलाई लात हानेर घरभित्र पस्यो।कार बाटो लागेको मात्रै थ्यो भिँडबाट एउटा करायो-‘ए ए प्रताप खोई त सामान उतारेको? कार त गयो त।’  आमाले प्रताप तिर हेरिन । उस्ले आमाबाट नजर हटायो र भिँडतिर हेर्दै भन्यो-‘ए त्यो ट्रेनको सफरमा डाकुओ ने  लुटलिया।’
‘प्रताप आफ्नो शरीर मात्रै लिएर गाऊँ आयो।’

गाऊँ आएको २-४ दिन सम्म ऊ हरेकको घर गएर बम्बईका किस्सा सुनाउँथ्यो।बम्बई सहरको अनेकौं घटनाहरू , उस्ले गरेका कामहरूको बखान गर्थ्यो। केही पछि देखि गाऊँका २-४ जना केटा साथ लिएर हिँड्न थाल्यो। ऊ आफुले सञ्जय दत्तको पर्सनल बडिगार्ड भएर काम गरेको सुनाउँथ्यो। उस्को मुखबाट हरदम-‘तम्मा तम्मा लोगे , तम्मा तम्मा लोगे तम्मा’भन्ने गीत सुनिन्थ्यो।तर मनमायाँ लाई देखे पछि भने ऊ-‘ भोलीभाली लड्की , खोल तेरा दिलकी, प्यार वाला खिड्की’ गाउँथ्यो।

मनमायाँ त्यही सुकुम्बासी टोलकी टुहुरी केटि । ट्र्याक्टरमा लेबर काम गर्ने जेबी राई त्यही आफुले काम गर्ने ट्र्याक्टरको चक्कामुनी खसेपछी मनमायाँ र उस्को भाई बमे टुहुरा अनि विष्णुमायाँ बिधवा भएकि थिईन। जेबी राईको लास हेरेर आउनेहरू भन्थे-‘फर्सी फुटेजस्तो फुटेको थियो बिचरा!’ तर विष्णुमायाँले आफूलाई बिचरा बन्न दिईनन्। बिरिङ खोलाको बगरमा बालुवा चालेर, गिटी कुटेर छोराछोरी पढाईन्। दायाँबायाँ नढिम्किने र आफ्नो कुरा स्पस्ट भन्ने उनको बानीले गाऊँका केही आशेहरूले पनि आस मारिसकेका थिए। उनि भन्थिन-‘यो खोलाको बालुवालाई जस्तै चालेर म मेरो छोराछोरीलाई सफा  र नरम बनाउँछु।’

प्रताप अचेल मनमायाँको पछि लागेको छ। गाऊँका अरू आवारा केटालाई उस्ले यसो भनेको छ -‘त्यो लड्कीको अगलबगल नजा , म उस्लाई सादि गर्छु।’ मनमाया, प्रताप लगायत गाऊँका हरेक आवाराहरू बाट भागी-भागी हिँड्छे।उस्ले आमाको दु:ख बुझेकी छे।ऊ पनि आमा जस्तै स्वाभिमानी छे।

बम्बई जाने कोहि नभएकोले प्रताप पनि गएन । ऊ गाऊँको टाउको दुखाई भयो। गाऊँका खोरहरूबाट कुखुरा हराउन थाले । प्रताप सँधै गोजीमा लसुन बोकेर हिँड्थ्यो । ऊ गाऊँका आफ्ना आवारा साथिलाई भन्थ्यो-‘लसुन चबाके खोरमा फुँक मारिदिए पछि मुर्गाहरू सब शान्त हुन्छ, हल्ली-खल्ली गर्दैन।’

एकदिन मनमायाँको खोरको कुखुरा पनि हरायो। सिधै भन्न नसकेपनि मनमायाँको आमाले गाऊँमा प्रतापले चोरेको हो भन्दै हिँडिन। प्रतापले यो कुरा सुन्यो र एकदिन बाटोमा मनमायाँलाई धम्कायो।अब त झन ऊ मनमायाँको पछि नै लाग्यो।ऊ गाऊँमा हरेकलाई -‘मलाई चोरको बात लगा’को छ त्यस्को आमाले , त्यस्को लड्की रेप गरिदिन्छु’ भन्दै हिँड्न थाल्यो। प्रतापले दुश्मनी पाल्यो।

एकदिन साँझ मनमायाँहरू बेलुकाको खाना खाने तयारी गर्दै थिए। प्रताप कताबाट मातेर आईपुग्यो र आँगनमा कराउन थाल्यो- ‘ ओई मलाई चोरीको बात लगा’को छेस हैन? पूरा गाऊँको साम्नेमा तेरो लड्की रेप गरिदिन्छु। बाहार निकल तिमेरू।’ प्रताप जोड-जोडले कराउन थाल्यो। ऊ कराएको सुनेर गाऊँका मान्छे भेला भए तर कसैले उस्लाई रोकेन। ऊ अनेक गाली गर्दै कराउँदै थियो। एक्कासि मनमायाँ कुदेर उस्को सामुन्ने आई र आफ्नो कम्मर माथिको कपडा च्यातचुत पारेर फालिदिई र चिच्याई -‘ ल गर मेरो रेप , तँलाई यहि हैन चाहिएको?’ ऊ यति जोडले18073507_1300272470010043_165335040_n चिच्याई कि नजिकै बगिरहेको बिरिङ खोला पनि टक्क रोकिए झैं भयो। मनमायाँको श्वास फुलेर छाती छिटो-छिटो तलमाथि भयो। उस्का आँसु आँखाबाट खसेर स्तनमा पोखिए।साँझको डुब्न लागेको घामको रातोले उस्का स्तनमा पोखिएका आँसु रगत जस्तै देखियो।
प्रताप जड भयो। यस्तो लाग्यो ऊ कुनै मुर्ती हो। ऊ उभिएकै ठाउँमा उभिएको उभियै भयो। उस्को रक्सीको नसा एकक्षणमा गायव भयो , ऊ चिसो भयो।
फरक्क फर्किएर प्रताप बेजोडले दौडियो र अलप भयो।मनमायाँको आमाले आफ्नो बर्को ल्याएर छोरीलाई छोपिदिईन।

प्रताप गाऊँबाट हरायो । सबैले फेरि बम्बई गयो होला भन्ने सोचे र खुशी भए । तर त्यो खुशी धेरै दिन टिकेन। १० दिन पछि प्रताप गाऊँ आयो र घरभित्र पस्यो। ऊ निक्कै दिन घरभित्रै बसिरह्यो।केही दिनपछी ऊ बाहिर त निस्कियो तर कोहि सँग एक शब्द बोलेन। मनमायाँलाई देख्दा तर्केर हिँड्न थाल्यो।प्रतापले एउटा ट्र्याक्टरमा लेबर काम गर्न थाल्यो।ड्राईवरले जे भनेपनि एक शब्द नबोली गर्ने प्रतापलाई त्यही ड्राइवरले ट्र्याक्टर चलाउन पनि सिकायो। ऊ बिहानै जान्थ्यो र साँझ घर फर्किन्थ्यो। अब गाऊँमा कुखुरा हराएनन् तर प्रतापको बोली हरायो।

एकसाँझ मनमायाँको घरको छानो बल्यो।घरभित्र बारुलाले बनाएको गुँड जलाउन बमेले बत्ती लगेर झोसेछ।खरको छानो सल्किहाल्यो।सुकुम्बासी गाऊँको बाक्लो बस्ती सबै जल्ने सम्भावना भयो। मनमायाँहरू गुहार गर्न थाले। गाऊँका मान्छे भेला भएपनि आगो निभाउने भन्दा भगवान जप्ने बढी भए। आगोले छानोको एकपाखा छेंडेर आकास तर्फ लप्का हान्न थाल्यो। यत्तिकैमा हातमा नांगो खुकुरी बोकेर प्रताप बेतोडले दौडदैं आयो र गाई बाँध्ने पालीमाथि एकै पटक’जम्प’ हानेर चढ्यो। त्यहाँ बाट छानामाथि चढ्यो र जल्दै गरेको छानोको एकपाखोको भाँटा र बाता काटेर त्यो पाखो नै भुइँमा खसाईदियो।आगो एकाएक शान्त भयो। मनमायाँको घर जोगियो।प्रताप छानोबाट ओर्लिएर कोहि सँग नबोली हिँड्यो।मनमायाँले आँखाभरी आँसु लिएर उस्लाई पर पुगिन्जेल हेरी।

भोलिपल्ट बिहानै गाऊँका मान्छे भेला भए।प्रताप पनि बिहानै आयो। बाँस काटेर ल्यायो, फुटायो र भाँटा बनायो।सबैले मिलेर मनमायाँको घरको छानो छाए। दिउँसो मनमायाँले खाजा ल्याएर दिई। प्रतापले उस्को अनुहारमा नहेरी खाजा लिएर खायो।सबै मिलेर मनमायाँको घर छाए।हिँजो दु:खले रोएको आँखा आज खुशीले रोयो। तर आजपनि प्रताप नबोलेरै आयो , नबोलेरै गयो।

प्रताप ट्र्याक्टरको ड्राईवर भएको छ।ऊ बिहानै साहुको गाडी लिएर निस्किन्छ र बेलुका फर्किन्छ।प्रताप घरमा पनि बोल्दैन। तर उस्का आमा बुबा खुशी छन् । एकदिन साँझ खाना खाँदै गर्दा प्रतापको बोली फुट्यो, भन्यो- ‘आमा!मनमायाँ मागिदेउ, बिहे गर्छु।’

त्यसको केही दिन पछि मनमायाँले बाटोमा उस्को ट्र्याक्टर रोकि र -‘आफूले भन्नू सक्दैन र आमालाई अह्राएको’? भनि।प्रताप हाँस्यो।

मनमायाँ र प्रतापको बिहे भयो।प्रताप आज सबैसँग मज्जाले बोलिरहेको छ।बेलुका सबै खानपान सकेर मनमायाँ कोठामा गई। प्रताप आफ्ना साथिहरूसँग केही बेर गफिएर बस्यो र कोठामा पस्यो। मनमायाँ बेहुलीको कपडामा खाटमा बसिरहेकी थिई। प्रताप एकछिन के गरौं के गरौं भयो र बोल्यो-‘अझै नसुतेको? अनि यत्तिकै सुत्ने? यो खोलेर अर्को लगाउ।’

मनमायाँले लजाउँदै भनि-‘तिमिले खोलिदेउ, मलाई त लाज लाग्छ।’

सन्तोष सिटौला
झापा, हाल-कतार

तपाईंको प्रतिकृया
Loading...